पूर्वी नेपालको सुन्दर हिलस्टेसन हो सन्दकपुर। तर बंगालीहरू बिच भने पुग्नैपर्ने गन्तव्य बन्दै गएको छ सन्दकफूक। नेपालीले सन्दकपुर भने पनि भारतीयले सन्दकफू भन्छन्। ठाउँ एउटै। सौन्दर्य उही। तर नाम थोरै फरक। नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुरमा दुई देशको विभाजन कतै महशुस हुँदैन। एउटा जङ्गे पिल्लर र आआफ्ना देशका केही थान साइनबोर्ड बाहेक दुई देशको फरकपन केही भेटिदैन।
सन्दकपुर यात्रा गर्नु भनेको फगत घुम्नु मात्र होइन, पहाडी जनजीवन र हिमाली दृश्यावलोकन गर्नु पनि हो। गुराँसे जंगल र निलो आकाशसँग साक्षात्कार गर्नु हो। रेडपाण्डा भेटिन्छ कि भनेर जंगल चिहाउनु पनि हो। माईको शिरमा आफ्नो शिर झुकाउनु पनि हो।
नेपालबाट सन्दकपुर पुग्न इलाम हुँदै जानु पर्दछ। इलामकै सबैभन्दा अग्लो स्थानमा पर्ने ठाउँ भएर होला जाडो मौसममा प्रायः हिउँ परिरहन्छ। इलामबाट माइपोखरी, देउराली, कालपोखरी हुँदै सन्दकपुर पुग्न ५५ किलोमिटर सडक छिचोल्नु पर्छ। र, लगभग पाँच घण्टा समय लाग्छ। तराईबाट हिँडेकै दिन पुगिन्छ। त्यसका लागि भने बन्दोबस्ती अगाडि नै गर्नुपर्दछ।
इलामको सबैभन्दा अग्लो भूगोल ‘सन्दकपुर’ले तपाईंलाई पर्खिरहको छ। यतिवेला सन्दकपुर क्षेत्रमा लालीगुराँसको वैंश फक्रिएको छ। गुराँस त एक डेढ हात अग्ला बोटमा पनि फुल्दारहेछन्।
इलाम सन्दकपुर रुटमा नियमित गाडी चल्दैनन्। त्यहाँ पुग्न रिजर्व नै गर्नु पर्दछ। नेपाल तर्फ फोरह्वील बोलेरो गाडी चल्छन्। भारत तर्फ पुराना ल्यान्डरोभर गाडी चल्दा रहेछन्। दोस्रो विश्वयुद्धताकाका ती गाडी चढ्नु पनि कम्ति रोमाञ्चक हुँदैन।
माईपोखरीसम्म सडक कालोपत्रे बनिसकेको छ। त्यहाँबाट उता चाहिँ कच्ची। माईपोखरी पवित्र सरोवर। नौ कुना भएको पोखरी पहाडमा पर्ने सूचिकृत रामसार क्षेत्र पनि हो। धुपी सल्लाका अग्लाअग्ला रुखले पोखरीलाई घेरेका छन्। जङ्गलका बिचमा देखिन्छ पोखरी। पोखरीमाथि निलो खुल्ला आकाश। आकाशको निलो छायाँ र वरिपरि अग्ला रुखका हरिया छायाँ पानीमा पर्दाको दृश्य बिछट्टै देखिन्छ।
पोखरीलाई पछाडि पारेर फोटो खिच्दा देखिने पानी, रुख र आकाशको समिश्रणले मन अघाउँदैन । पोखरीको एउटा कुनामा देवीको मूर्ती छ। भक्तजन त्यहाँ पूजा गरेर माईपोखरीको आराधना गर्छन्। माईपोखरीमा होमस्टे छन्।इलामेलीको आतिथ्यता प्रसिद्ध छ। र, त्यो मिठो सत्कार त्यहाँ पनि पाइन्छ।
माईपोखरीबाट भने कच्ची बाटो सुरु हुन्छ। बाटोमा देउराली बजार भेटिन्छ। देउराली सन्दकपुर गाउँ पालिकाको कार्यालय भएको बजार पनि हो। त्यहाँबाट बाटो उकालो हँुदै जान्छ। अब बाटोमा माईखोला भेटिन्छ। माईखोलालाई कतै छेउ लाउँदै कतै वारपार गर्दै गाडी झन् कठिन देखिने बाटैबाटो लाग्छ।
गाडी मास्तिर उक्लिदै गर्दा वस्तीहरू पातला हुँदै जान्छन्। विस्तारै पातला वस्तीको र घरहरूको संख्या पनि पातलिन थाल्छ। अब माईखोलाको स्वरुप पनि पातलो हुदै गएको देखिन्छ क्रमशः वस्तीका ठाउँहरू जङ्गलले ओगट्न थाल्छन्। बरु जङ्गलहरू भने बाक्लिन थाल्छन्।
चैतबैशाखको यो बेला जङ्गल रङ्गिन देखिन्छ। जब जङ्गल आउन थाल्छ पर्यटक मन्त्रमुग्ध हुन थाल्छन्। अग्लाअग्ला पहाड। पहाडको पहराका अफ्टेरो ठाउँमा गुँरासका रुखहरू। रुखले थाम्न नसक्ने गुराँसका फूलहरू। एउटा दुइटा होइन, जङ्गलै राताम्मे। परपर आँखाले देखिने ठाउँसम्म। पहराका फेदतिर गाढा रातो गुराँस। अलि माथि गुलाबी। कतै फिक्का रातो गुराँस। कतैकतै सेतो गुराँसले जङ्गल ढकमक्क। गुराँसका जङ्गलबिच पुग्दा पर्यटकले कठिन कच्ची बाटोको यात्रा सबै बिर्सिने।
सन्दकपुर नेपालमा रेडपाण्डा पाइने ठाउँ पनि हो। सन्दकपुरको टप्पु, छिन्टापु, जौवारीजस्ता ठाउँमा भेटिन्छन् हाब्रे। नेपालीमा हाब्रे भनिए पनि आम मानिसले अंग्रेजी नाम रेडपाण्डा भनेर नै चिन्छन्। टप्पु भन्ने स्थानमा रेडपाण्डाको प्रजनन् केन्द्र बनाउने प्रयास पनि गरिएको छ। तर वनको प्रचलित कानुनमा थोरै सुधार हुन नसक्दा त्यो कार्य अघि बढ्न सकेको छैन।
यात्रामा २५ प्रकारका गुराँस भेटिन्छन्। जति माथि उक्लिदै गयो हुस्सुले स्वागत गर्न थाल्छ। अनि जिउमा ठिही पस्न थाल्छ। चैत्र वैशाखको तराईमा उत्पात गर्मी हुँदा यहाँ पुग्दा भने कठाङ्ग्रिने जाडो हुन थाल्छ। सन्दकपुर पुग्दासम्म बाटामा स–साना बोटमा पनि गुराँस फुलिरहेका भेटिन्छन्।
हामीलाई लाग्थ्यो गुराँस रुखमा मात्र फुल्छन्। तर त्यहाँ पुगेपछि देखिन्छ गुराँस त एक डेढ हात अग्ला बोटमा पनि फुलिरहेका हुँदा रहेछन्। मस्तले, पूर्ण स्वच्छन्द किसिमले। माईमझुवाबाट उकालो लागेपछि बाटो अझ रोमाञ्चक र डरलाग्दो हुन्छ। जतिमाथि गयो हुस्सु बाक्लिदै जान्छ। अनि बाटो वरिपरि सेतो हुस्सु मात्र देखिन्छ। बाटो ठाडो उकालो। एक लाइन मात्र ढुङ्गा छापेको बाटो।
‘फोरह्वील’ ड्राइभ भएको गाडीले पहिलो गियरमा मात्र चलाउनु पर्ने। विपरित दिशाबाट गाडी आउँदा साइड दिन ठाउँ खोज्नु पर्ने। डाँडाको टुप्पोटुप्पो भएर हिडेको गाडीको झ्यालबाट हे¥यो आकाश मात्रै देखिने। बोटविरुवा केही देखिदैनन्। आम्मै आकाश मात्र देखिन्छ त !
हामी झस्कियौं। हाम्रो मनस्थिति बुझेर चालकले सुनाए ‘सर यो आकाश जाने बाटो हो।’ हामीले बुझेनौ। र, सोध्यौं के भनेको ? भारतीय पर्यटक यो दृश्य देखेर सारै डराउँछन् रे। उनीहरू यो दृश्यलाई ‘आकाश जानेका रास्ता’ भन्छन् रे।
वास्तवमा सन्दकपुर पुग्नु भनेको आकाश जाने बाटो हुँदै आकाशको गन्तव्यमा पुग्नु हो। र, आकाश जाने बाटोको यात्रा गर्नु पनि हो। सिद्धहस्त चालकले मात्र यो बाटोबाट सन्दकपुर पु¥याउन सक्ने रहेछन्।
बाटामा ठूलठूला अक्करका भीर। भीरमा फूलेका गुराँस। पदयात्रीका लागि ढुङ्गा छापेर बनाइएका सुन्दर बाटा। कतैकतै एक दुई ओटा घर। जङ्गलमा बेफिक्री चरिरहेका चौरीका बथान। यी सबै देख्दा यात्रा मनमोहक नै हुन्छ। सबैभन्दा उत्तम चैँ प्रायः फोन लाग्दैन । इन्टरनेट चल्दैन। सांसारिक तनावबाट मुक्त भएझै लाग्छ।
सुन्दर वातावरण। न कोलाहल। न प्रदुषण। मात्र सुन्दर प्राकृतिक दृश्य। यतै कतै बसिरहन पाए हुने जस्तो। तर एक दिन यहाँ आउनेका लागि यो बसिरहूँ जस्तो लाग्ने ठाउँ भएपनि यहाँ बसिरहनेका लागि भने विकट, कष्टकर र बसाइँ सरिहालु जस्तो हुने।
सिंहलिला हिमश्रृङ्गखलाको ३,६३६ मिटर अग्लो स्थानमा रहेको छ सन्दकपुर। चैत्रवैशाखमा गुराँस फुल्छ। हिउँद याममा हिउँले ढाक्छ। सबै सेतो हुनेगरी। वर्षाद्का तीनचार महिना बाहेक अरु दिन भारतीय पर्यटक र केही नेपाली पर्यटकले सन्दकपुर भरिभराउ हुन्छ। बजार सानो छ। बजारको बाटोले दुई देशको सिमाना छुट्टयाउँछ। बाटो वारिपारि होटल छन्। नेपालतर्फ तीनओटा जति। भारततर्फ चारओटा ब्लक भएको एउटा सरकारी गेस्ट हाउस र एउटा निजी होटल छन्। सरकारी गेस्ट हाउस पनि लिजमा दिइएको छ। दुवै देशका होटल चलाउने ‘नेपाली’ नै छन्। मात्र नागरिकता फरक छ तिनीहरूको।
अग्लो स्थानमा भएकाले होला प्रायः २४ सै घण्टा हावा चलिरहन्छ। जाडो भएपनि यहाँबाट देखिने दृश्य लोभलाग्दो हुन्छ। दृश्यावलोकन गर्न यहाँ सानो थुम्कीमा टावर जस्तै संरचना बनाइएको छ। त्यहाँबाट नेपाल र भारत मात्र होइन, भुटान र चीनका सीमावर्ती हिमाल पनि मज्जाले हेर्न पाईन्छ। पारी दार्जिलिङ जिल्लाका भूभाग र वारी नेपालका सुन्दर पहाडी दृश्य क्षितिजसम्म हेर्दा पनि मन नअघाउने। यस्तो लाग्छ मानौ डाँडाहरू थाक थाक पारेर सजाएर राखिएका छन्।
सन्दकपुर पनि सूर्योदय र सूर्यास्त हेर्नका लागि चर्चित छ। सूर्योदय हेर्न अलि चाँडै उठ्नु पर्छ। हावाले गर्दा बिहानै कठ्याङ्ग्रिने जाडो हुन्छ। सूर्योदय हेर्ने हो भने अल्छी गर्नु हुँदैन। तल क्षितिजबाट हल्लिँदै गरेको कलिलो सूर्यो हेर्नको मज्जा बिछट्टै हुन्छ।
सूर्योदयसंगै बिहानै खुलेर बसेका हिमाली शृङ्खला अवलोकन गर्न कोलकाताबाट पर्यटक अत्यधिक आउँछन्। भारतीय पर्यटक प्रायः खचाखच हुने रहेछन्। त्यही भएर होला नेपालीका होटल भएपनि भारतीय नेपालीका होटल भएपनि मेनु र रुम चार्ज भारतीय मूल्यमा तोकिन्छ। विशेषगरि भारतीय र विदेशी पर्यटकका लागि चारपाँच दिने पदयात्रा (ट्रेकिङ) गर्न सन्दकपुर चर्चित रहेछ।
सन्दकपुरको टुप्पो भन्दा थोरै तल नेपालतर्फ माई मन्दिर छ। त्यहाँ सानो जरुवा छ। जरुवालाई वरिपरि ढुङ्गाले घेरेर राखिएको छ। त्यहाँ बाट तपतप पानी झर्छ अनवरत। झापामा कन्काई भनेर चिनिने माईखोलाको उत्पत्ति यही तपतप झरेको पानीबाट भएको हो। सन्दकपुर जस्तो अग्लो र सुख्खा डाडाबाट पवित्र माईनदीको उत्पत्ति भएको छ। त्यहाँ देवी, शिवजी लगायत देवदेवीका मन्दिर छन्। सन्दकपुर आउने नेपाली प्रायः यहाँ आउँछन् र श्रद्धाले शिर झुकाएर जान्छन्।
उत्पत्तिस्थलबाट थोरै तल पुग्दा माईले पनि आफ्नो श्रोत बढाउँछिन्। त्यही श्रोतबाट डाँडाका होटलले पानी ओसारेर प्रयोग गर्छन्। पिकअप गाडीले बोकेर लगेको पानीले पर्यटकलाई सुविधा दिनुपर्छ। छेउछाउ बजार छैन। बजारबाट नियमित गाडी चल्दैनन्। हाट बजार गर्न कि त आफ्नै गाडी हुनुपर्छ या रिजर्व गर्नु पर्छ। त्यसैले यहाँको जनजीवन अलि महंगो छ।
पर्यटकले पनि महंगो मूल्य तिर्नु पर्दछ। थोरै होटल भएकाले पहिले नै बुकिङ गर्नु पर्दछ। दररेट भने बुझेर बुकिङ गर्नु उपयुक्त हुन्छ। सन्दकपुर यात्रा गर्नु भनेको फगत घुम्नु मात्र होइन, पहाडी जनजीवन, हिमाली दृश्यावलोकन गर्नु पनि हो। गुराँसको जंगल र निलो आकाशसँग साक्षात्कार गर्नु पनि हो। रेडपाण्डा भेटिन्छ कि भनेर जंगल चिहाउनु पनि हो। माईको शिरमा आफ्नो शिर झुकाउनु पनि हो। सन्दकपुरको यात्रा पर्यटनको एकीकृत प्याकेज अवलोकन गर्नु पनि हो।
(बराल पूर्वी नेपालका पर्यटन अभियन्ता हुन्।)