हिमालयको काखमा अवस्थित भुटानमा पुगेकी अमेरिकी महिला लिन्डा लिमीङ त्यहाँको सौन्दर्य देखेर चकित भइन्।
सन् १९९४ को कुरा हो, उनी ३९ वर्षकी थिइन् र अमेरिकाको नाशभिलमा फ्रिलायन्सर लेखकको रुपमा व्यस्त करियरबाट केही समय छुट्टी लिएर यात्रामा निस्केकी थिइन्। त्यो बेला भुटान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै थियाे।
जब लिन्डाको जहाज पारो विमानस्थलमा अवतरण गर्यो, त्यो सुन्दर उपत्यका जहाँ सुनौलो छानासहितको प्रसिद्ध टाइगर्स नेस्ट गुम्बा अग्लो पहाडको छेउमा अडिएको छ। उनलाई लाग्यो, यो त कुनै प्रेम-कथाको संसार हो। हिउँले ढाकिएको हिमश्रृंखला नियाल्दै गर्दा उनले यस्तो विस्मय र भावनात्मक ऊर्जा महसुस गरिन्, जुन अरू कतै पाएकी थिइनन्।
Photo: Black Tomato
‘म विमानबाट झरेको क्षणदेखि नै लोभिएकी थिएँ,’ उनी भन्छिन्, ‘हावा यति स्वच्छ थियो। हामी संसारकै एकमात्र कार्बन-नेगेटिभ देश हौं, किनकि यहाँ अधिकांश भू-भाग वनले ढाकिएको छ।’
तर, लिन्डालाई प्रभावित पार्ने कुरा केवल स्वच्छ हावा र मन छुने हिमालको दृश्य मात्रै थिएन। उनले यात्रा गर्दा भेटेका मानिसहरूले पनि उनको मन जिते।
‘म बाटोमा भेट्ने अपरिचितहरूको दयालुता देखेर प्रभावित भएँ,’ उनी सम्झिन्छिन्, ‘जस्तै, एक मोटरसाइकल चालकले मेरो खुट्टा मर्किएपछि मलाई होटलसम्म पुर्याइदिए। त्यस्तै मैले बाटोमा मानिसहरूलाई फलफूल बाँड्दा उनीहरूले देखाउने कृतज्ञता देखेर पनि म खुसी थिएँ।’
प्रत्येक दिन घण्टौं हिँड्ने उनको बानी नै उनको लागि ध्यानको अभ्यास बन्यो, जसले उनको जीवन नै परिवर्तन गर्यो।
‘मेरो मन सुस्त हुँदै गयो र म स्पष्ट देख्न थालेँ। मैले बुझें कि बाँकी जीवन म यहीँ बिताउन चाहन्छु।’
एक अनपेक्षित प्रेमकथा
भुटानबाट फर्किएपछि उनले नाशभिल (अमेरिका)मा सम्पत्ति किन्ने योजना रद्द गरिन् र त्यसको सट्टा भुटानमा बस्ने निर्णय गरिन्। तीन वर्षभित्र उनले दुईपटक थप भुटान भ्रमण गरिन् र त्यसपछि जीवनका सबै परिचित पाटाहरूलाई बिदा गर्दै भुटानमा बस्न गइन्, जो धेरै मानिसहरूले नक्सामा पनि खोज्न नसक्ने देश।
उनी थिम्पुस्थित एक सांस्कृतिक विद्यालयमा काम गर्न थालिन् र त्यसपछि राष्ट्रिय कला विद्यालयमा अङ्ग्रेजी पढाउने अवसर पाइन्। त्यहीँ उनको मित्रता एकजना लाजालु तर सुन्दर, सभ्य पोसाक (घो) लगाउने चित्रकला शिक्षक नाम्गेसँग भयो।
‘उनी निकै राम्रा देखिने र सँधै सफा-सुग्घर पाेसाक लगाउँथे,’ लिन्डा भन्छिन्।
डेढ वर्षसम्मको चिनाजानीपछि जाडोको बिदामा उनीहरू सँगै समय बिताउन थाले। लिन्डाको घरमा चिया पिउँथे, अङ्ग्रेजी र भुटानी भाषा (जोङखा) अभ्यास गर्थे।
‘हामी एकअर्कालाई मन पराउँथ्यौं तर केही हुने अपेक्षा भने गरिएकै थिएन,’ लिन्डा भन्छिन्, ‘नाम्गेको परिवार परम्परागत धार्मिक पृष्ठभूमिको थियो र हामीबीचको सांस्कृतिक अन्तरले सम्बन्ध सम्भव नहुने लाग्थ्यो।’
तर, एकदिन नाम्गेले पाठ्यपुस्तक हेर्दै गर्दा सरकारी विभागबारेको खण्डमा औँलो देखाउँदै भने, ‘हामीले यो गर्नुपर्छ।’ त्यो विवाह दर्ता कार्यालय थियो। लिन्डा चकित भइन् तर उनले ‘हुन्छ’ भनिन्।
त्यसपछि नाम्गेले उनलाई आफ्ना परिवारसँग भेटाए र उनीहरूको विवाहको औपचारिक तयारी भयो। उनको डर परिवारको मायालु स्वागतले हट्यो।
‘नाम्गे बौद्ध धर्म मान्ने भएकाले भन्छन्, हाम्रो कर्मले हामीलाई जोडेको हो। ‘हामी फरक छौं, तर हाम्रो मन एउटै छ’ भने,’ लिन्डा स्मरण गर्छिन्।
रोचक त के छ भने, नाम्गेको दिवंगत बुबा, जो ज्योतिषी थिए, उनले पहिले नै भविष्यवाणी गरेका रहेछन्- नाम्गेले टाढा देशकी महिलासँग विवाह गर्नेछ, त्यो पनि ढिलो उमेरमा। त्यसैअनुसार २००० मा उनीहरूको विवाह भयो।
एकदिन विवाहपछि नाम्गेले उनलाई सोधे, ‘हाम्रो पहिलो भेट सम्झन छ?’ उनी सोचिन् त्यो त कला विद्यालयको समय होला।
तर नाम्गेले भने, ‘होइन, जब म तिमीलाई मोटरसाइकलमा होटलसम्म पुर्याएको थिएँ, तिमी घाइते थियौ।’ लिन्डालाई विश्वासै लागेन। त्यो बेला जसले उनलाई सहयोग गरेको थियो, त्यही व्यक्ति उनका जीवनसाथी बन्ने रहेछन्। ‘यो त नियति नै हो,’ उनले भनिन्।
नाम्गे र लिन्डा २००३ मा भुटानको बुमथाङमा रहेको पवित्रस्थल मेम्बार्त्सोमा। तस्बिर: लिन्डा लेमिङ
जीवनको अर्को अध्याय
लिन्डा र नाम्गेले एक भुटानी बालिकालाई एडप्ट गरे- उनी अहिले २६ वर्षकी छिन् र अस्ट्रेलियाको पर्थमा नर्सिङ अध्ययन गर्दैछिन्।
‘मैले कहिल्यै बच्चा हुने सोचिन तर यो त वरदान बन्यो,’ लिन्डा भन्छिन्।
‘भुटान अमेरिकाभन्दा बिलकुल फरक छ। यहाँ ‘सामूहिक राष्ट्रिय खुसी’लाई ‘सामूहिक राष्ट्रिय उत्पादन’ भन्दा प्राथमिकता दिइन्छ।’
यो अवधारणा सन् १९७० मा भुटानका चौथो राजाद्वारा विकास गरिएको हो, जसले समाजको सामाजिक, सांस्कृतिक, वातावरणीय र आध्यात्मिक पक्षलाई विकास मापनका मापदण्ड बनाउन आग्रह गरे।
‘तीन दशक भइसकेको छ तर भुटान अझै पनि जादूमय छ,’ लिन्डा भन्छिन्, ‘यहाँ बाघ जंगलमा स्वतन्त्र घुम्छन्, हिमालमा हिमचितुवा छन्।’
उनी अझै पनि १३औं शताब्दीको टाङ्गो गुम्बा चढेर जान मन पराउँछिन्। ‘त्यहाँको ऊर्जा खास हुन्छ, शान्ति दिने किसिमको, जुन मैले पहिलो दिन महसुस गरेकी थिएँ।’
माइन्डफुल बाँच्ने अभ्यास
उनले आफ्नो अनुभव दुई पुस्तकमा लेखेकी छन्, ‘म्यारिड टू भुटान ’ र ‘अ फिल्ड गाइड टू ह्याप्पिनेस’। यी पुस्तकहरू उनको सांस्कृतिक अन्तरको अनुभव, हास्यरसयुक्त लेखनशैली र आत्मपरिवर्तनको यात्रा बुनिएका छन्।
‘हामी सँगै बस्न थालेपछि मैले नाम्गेसँग सोधेँ, ‘तिमीलाई पानीको समस्या छैन?’ उनले भने, ‘छैन।’ मैले त बुझें, हरेक समय पानी आउँछ। तर त्यो त उनीका लागि समस्या थिएन मात्र!’ उनी हाँस्दै भन्छिन्।
सुरुका दिनहरूमा लिन्डाले बाल्टिनमा कपडा धोथिन्। ‘विवाहपछि वासिङ मेसिन ल्यायौं, तर आज पनि हामी पानी उमालेर मात्रै पिउँछौं- यो नै हाम्रो ‘माइन्डफुल’ अभ्यासजस्तो लाग्छ।’
भुटानी समाजको समय बुझ्ने तरिका पनि उनलाई फरक लाग्थ्यो।
‘यहाँ कुनै कामको समय दिँदा, ‘बुधबार आऊ’ भन्नु पर्याप्त हुन्छ। त्यो दिन वा अर्को दिन आए, ठिकै मानिन्छ।’ उनले भनिन्, ‘यसरी समय नाप्ने शैली व्यस्त अमेरिकीहरूलाई अप्ठेरो लाग्न सक्छ तर एकपटक बुझिएपछि राम्रो बानी बन्न जान्छ।’
भुटान।
शान्तिको टापु
अहिले लिन्डा र नाम्गे थिम्पुका पहाडमाथि, विलो र चेरी फूलले ढाकिएको ठाउँमा बस्छन्। उनीहरूको घर उज्यालो हुन्छ, घरमै नाम्गेको आर्ट स्टुडियो छ, जहाँ उनी परम्परागत बौद्ध चित्रकलामा आधुनिक प्रभाव मिसाएर चित्र बनाउँछन्- जस्तै, स्पेस रकेटहरू, जसप्रति उनी मोहित छन्।
अब उनीहरू भुटान र अमेरिकाबीच समय बाँड्छन् तर हाल भुटानमै बढी बस्छन्। परिवार र साथीहरू भेट्न आउँछन् र जब फर्कन्छन्, विमानस्थलमा रोइरहेका देखिन्छन्।
‘किनभने यो ठाउँ नै उपचारजस्तै छ,’ लिन्डा भन्छिन्, ‘हामी प्रकृतिसँग जोडिएर बाँच्छौं र संस्कृतिले दयालुता मूल्यांकन गर्छ। मानिसहरू यहाँ केही समय बिताउँदा-नबिताउँदै आराम महसुस गर्न थाल्छन्। आजको अशान्त संसारमा भुटान साँच्चै एउटा शान्तिको विश्राम स्थल हो।’ सिएनएनबाट।