काठमाडौं। बेलायती सेनाबाट सेवा निवृत्त भएपछि जन्मथलोको विकासमा समर्पित भएका चामबहादुर पुनको जीवन यात्रा समेटिएको वृत्तचित्र ‘चामबहादुर पुन: एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’को काठमाडौंमा प्रदर्शन गरिएको छ।
पत्रकार तथा पर्यटनकर्मी अमृत भादगाउँले निर्देशित १७ मिनेट लामो यो वृत्तचित्रले एक लाहुरेले जन्मथलोको मुहार फेर्न सक्ने सम्भावनाको प्रेरक कथा प्रस्तुत गरेको छ।
वरिष्ठ पर्यटन पत्रकार अमृत भादगाउँले र चामबहादुर पुन।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८, करबाकेली क्षेत्रका पुनले करिब १५ वर्ष बेलायती सेनामा र १० वर्ष ब्रुनाईको सुल्तानको सेवामा बिताएपछि बाँकी जीवन गाउँकै समृद्धिमा लगाएका छन्।
करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, पाहुनाघर निर्माणदेखि पुनहिल–करबाकेली–बेनी जोड्ने ‘करबाकेली इको ट्रेक’ पदमार्गको विकासमा उनको योगदान उल्लेखनीय छ। पुन समुदायको संस्कार र संस्कृति संरक्षणमा समेत अग्रसर रहेका उनले पुस्तक लेखनदेखि चलचित्र निर्माणसम्म गरेका छन्।
वृत्तचित्रको प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि मानवअधिकारवादी मोहना अन्सारीले चामबहादुर पुनले पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता उदाहरणहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताइन्। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, लेखक शेखर खरेल, निर्देशक रवि सायमी, समाजसेवी चामबहादुर पुनलगायतले वृत्तचित्रमाथि मन्तव्य राखेका थिए।

वृत्तचित्रमा भवानी शिलाकारले सिनेम्याटोग्राफी, सुदीप श्रेष्ठले सम्पादन र जी. पुनले संगीत संयोजन गरेका छन्। राधा पुनले निर्माण गरेको उक्त वृत्तचित्रको प्रदर्शनमा पर्यटन, साहित्य, समाजसेवा, पत्रकारिता, कला र शिक्षा क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।











फाेटाे/भिडियाे: कमल प्रभात/एभरेस्ट पेडिया।