काठमाडौं। रोल्पाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।
पर्यटन प्रवर्द्धन मञ्च नेपालको आयोजनामा नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा तीन दिनसम्म चलेको प्रदर्शनी बुधबार प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यतामा आयोजित समारोहबीच समापन गरिएको हो।
समापन समाराेहमा सहभागीहरू
रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका ३५ वटा फोटो प्रदर्शनीमा राखिएको थियो।
प्रदर्शनीको समापन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि घर्तीमगरले फोटोहरु हेर्दा ‘रोल्पामै पुगेको भान’ भएको बताइन्। उनले भनिन्, ‘रोल्पाको सामाजिक, संस्कृति र प्राकृतिक कुराहरुलाई एकीकृत गरिएका फोटोहरु काठमाडौंमा तीन दिनसम्म फोटो प्रदर्शनी हुनु एतिहासिक कुरा हो। फोटो हेर्दाखेरि रोल्पामै पुगेको भान भयो।’
ईश्वरी घर्तीमगर (प्रतिनिधिसभा सदस्य)
फोटोग्राफर पुनले आयोजक पर्यटन प्रवर्द्धन मञ्च नेपालसहित प्रदर्शनी अवधिभर अवलोकनमा सहभागीहरु र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै प्रदर्शनी समापन भएको घोषणा गरे।
प्रदर्शनी गत सोमबार पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरेका थिए।
प्रदर्शनी अवलाेकनका लागि सयौंकाे सहभागिता भएकाे पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। आगामी दिनमा पनि पर्यटन प्रवर्द्धनका लागि यस्तै खालका कार्यक्रमहरु गर्ने मञ्चका अध्यक्ष लिलाराम खड्काले जानकारी दिए।











