काठमाडौं। मिस इङ्ल्याण्ड- २०२४ की विजेता मिल्ला म्यागीले आगामी मिस वर्ल्ड प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेकी छन्। भारतको हैदराबादमा हुने प्रतियोगितामा भाग नलिने निर्णयसँगै उनले आयोजकमाथि गम्भीर शोषणका आरोप लगाएकी छन्।
ब्रिटिश मिडिया द सनसँगको कुराकानीमा म्यागीले प्रतियोगिताका दौरान आफूलाई ‘वेश्याजस्तै’ व्यवहार गरिएको अनुभूति भएको बताएकी छन्। आयोजकहरूले महिलाहरूमाथि धनाढ्य प्रायोजकहरूलाई मनोरञ्जन दिन दबाब दिने, गह्राे मेकअप र अनावश्यक ड्रेसअपको निर्देशन दिने र दिनभर तालिम तथा औपचारिक कार्यक्रममा सहभागी गराउने कार्य शैलीप्रति उनले आक्रोश पोखेकी हुन्।
म्यागीले भनिन्, ‘म यहाँ मानिसहरूलाई रमाइलो गराउन आएको होइन, म आफ्नो क्षमता देखाउन आएकी थिएँ। तर, हरेक टेबलमा दुई-दुई जना युवतीलाई पाहुनाहरूलाई मनोरञ्जन दिन राखिएको थियो।’
उनका अनुसार प्रतियोगिताको वातावरण नै यस्तो थियो जसले उनलाई बारम्बार वेश्याजस्तो व्यवहार गरिएको अनुभूति दिलायो। ‘हामीलाई बाँदरझैँ नाचाइन्छ, केही नसोची जे भनिन्छ त्यही गर्न लगाइन्छ,’ उनले भनिन्।
हैदराबाद भ्रमणपछि निर्णय
म्यागी गत मे ७ मा हैदराबाद पुगेकी थिइन् जहाँ मिस वर्ल्ड प्रतियोगिता हुन गइरहेको छ। त्यहाँबाट फर्केपछि मे १८ मा उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेकी थिइन्। तर, त्यसबेलासम्म उनले स्पष्ट रूपमा कारण भनेको खुलाएकी थिइनन्।
आफ्नो निर्णयको बारेमा बोल्दै म्यागीले मिस वर्ल्ड प्रतियोगिता अझै विगतको परम्परा र दृष्टिकोणमा अड्किएको बताइन्। ‘मिस वर्ल्डले एउटै खालको सौन्दर्य मापन गर्छ, जुन आजको समाजसँग मेल खाँदैन। परिवर्तनका लागि प्रतियोगितामा होमिए पनि, वास्तविकता त्यसको ठिक उल्टो पाएँ,’ उनले भनिन्।
म्यागीको यो अभिव्यक्तिले सौन्दर्य प्रतियोगिताको स्वरूप र उद्देश्यप्रति पुनर्विचार गर्नुपर्ने बहसलाई थप बल दिइएको छ।