काठमाडौं। विश्व स्थानीयकरण दिवसको सन्दर्भ पारेर नक्सालमा ‘स्थानीय भावनाको खोज’ कार्यक्रम आयोजना गरिएको छ।
दिगो विकास इन्स्टिच्युट र काठमाडौं महानगरपालिकाको सहकार्यमा ‘ऐतिहासिक सम्पदा हाम्रो पहिचान, नक्सालको समृद्धि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिका र नयाँ पुस्तालाई नक्सालको संस्कृति, इतिहास र जीवनशैलीसँग नजिक बनाउनु आयोजकले बताएका छन।
खोज यात्राको क्रममा बालबालिकाले मन्दिर, डबली, ढुंगेधारा, बहालजस्ता सम्पदा स्थलहरू अवलोकन गरेका छन। यस क्रममा सडकलाई कक्षाकोठा र खेलमैदानको रूपमा प्रयोग गरिनेछ, जसले सिकाइ रमाइलो र अनुभवजन्य बनाउने आयोजकले जनाएका छन।

यस पहलले बालबालिकामा स्थानप्रतिको गर्व, जिज्ञासा र अपनत्व बढाउने अपेक्षा गरिएको छ। समुदायसँग परामर्श गर्दै भविष्यमा सम्पदाको संरक्षण र विकास कसरी गर्न सकिन्छ भन्ने सामूहिक सोच तयार गर्ने प्रयास पनि हो।
दिगो विकास इन्स्टिच्युट र काठमाडौं महानगरपालिकाले यसअघि हाँडीगाउँमा सफल प्रयोग गरेका थिए। अब नक्साल र जयबागेश्वरीमा पनि त्यस्तै सामुदायिक रूपान्तरणका सम्भावनामा काम भइरहेको छ। भविष्यमा अन्य सम्पदा क्षेत्रहरूमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू विस्तार गरिनेछ।







