संसारकै पुरानो धर्म हो, ‘युङ्डुङ् बोन्’ । यसको अभ्यास भएको १८ हजार ४२ वर्ष भइसक्यो। ग्याल्वा शेन्राव मिवोले मानव कल्याण र सुख शान्तिका लागि प्रतिपादन गर्नु भएको युङ्ढुृङ बोन धर्म अनुशरण गरेर संसारलाई उज्यालो मार्गमा हिँडाउने अग्रणी गुरु हुनुहुन्थ्यो, योङ्जिन रिम्पोछे।
परम पूजनीय रिन्पोछेज्यूले १०० वर्षसम्म धर्म शासन गरी मानव जगत र जीवजिवात्माको हित गर्नु भयो। उहाँको कामबाट धर्मसंस्कृतिको रक्षामा समर्पित रहने प्रेरणा मिल्दछ।
परम पूजनीय गुरुले सङ्कट र विपत्को समयमा पनि कुशलतापूर्वक शासन गरी सम्पूर्ण जगत र प्राणीको भलाई गर्नु भयो। ‘युङ्डुङ् बोन्’को शासनलाई सोच्नुपर्दा पूजनीय रिम्पोछे जस्तो कृपालु यस धर्तिमा अहिलेसम्म पाल्नु भएको छैन।
१. पूजनीय रिम्पोछेज्यूले सानै उमेरदेखि असल गुरु अर्थात् कल्याणमित्रबाट राम्रो शिक्षादीक्षा प्राप्त गर्नुभयो । विशेषगरी ‘नाम्छो’ भन्ने ठाउँको गुफाभित्र राति भेडा बाख्राको गोठमा सुत्नु भएर विद्या अभ्यास गर्नुभएका जस्ता क्रियाकलापले हाम्रो चित्तलाई दृढ बनाउन र प्रयत्नशील हुन प्रेरणा मिल्दछ ।
त्यसपछि क्रमशः सन् १९५२ मा ‘गेशे’को उपाधि हासिल गर्नु भएर ‘लोपोन’ उपाधी ग्रहण गरेदेखि ७० वर्षसम्म बोन धर्म अध्ययन एवम् प्रशिक्षण कार्यलाई निरन्तरता दिनुभयो । स्वदेश तथा विदेशमा उहाँका हजारौं संख्यामा शिष्यहरू छन् । ‘बोन्’ धर्मको इतिहासमा प्रसिद्ध विद्वानहरू धेरै पाल्नुभएको थियो तर उहाँ जस्तो बोन धर्मसंस्कृतिका निम्ति यति लामो समय प्रशिक्षण दिने अरु कोही भएन ।

२. त्यसैगरी परम पूजनीय रिम्पोछेज्यूले पाल सेन्तेन मेन्री गुम्बाका ५ जना प्रमुख गुरुको कार्यकालसम्म जिवित रही बोन धर्मको शासनमा सेवा गर्नु भएको छ ।
बोन धर्मको सूत्र–मन्त्र, चित्त वर्गका अभिषेक, आगम र उपदेशका परम्पराहरू सबै उहाँसँग जोडिएको पाइन्छ ।
३. भारतको हिमाञ्चल प्रदेशको दलेन्जी भन्ने ठाउँमा परम पूजनीय ३३ औं मेन्री ठिजिन रिम्पोछे र योङजिन रिम्पोछेज्यूबाट पाल सेन्तेन मेन्री गुम्बा निर्माण सुरुवात गरी श्येडा र साधना शिक्षा सञ्चालन गर्नु भयो ।
उहाँले धेरै वर्ष त्यहाँको गुम्बामा बसेर बोन धर्म साधनाका साथै मुख्य प्रशिक्षक ९पोन्लोब०को भूमिका निर्वाह गर्नुभयो।
४.उहाँले ‘श्येडा’को विषय सूची, सूत्र–मन्त्र–चित्त तीनको पूर्ण शिक्षाको आधार नवनिर्माण गर्नुभयो । उहाँकै योगदानका कारण नेपाल र भारतमा गेशे (डाक्टर अफ फिलोसपी) सम्म पढाई सुरु भएको हो।
वचन ग्रन्थहरू भएता पनि वासना (लुकेर बसेको) रूपमा रहेको ‘युङ्डुङ् बोन्’को ३६० स्तुप अन्तरगत १२० रेखाचित्र कोरेको सर्वनिर्मित स्तुपको परम्परा उहाँले नै सुरु गर्नुभएको थियो ।
पश्चिमी देशमा बोनको प्रथम स्तुप चाहिँ उहाँले नै २० औं शताब्दीको छैटौं दशकको सुरुवातमा निर्माण गर्नुभएको थियो । पश्चिमीहरूमा बोन धर्मको प्रशिक्षण दिने प्रथम व्यक्ति पनि उहाँ नै हो ।
बोन धर्मका प्रर्वतक तोन्पा शेन्राव मिवोको काय वस्त्र र जन्म–निर्वाणको मिति पूजनीय रिम्पोछेज्यूले नै ग्रन्थअनुसार प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरी ‘बोन’ धर्मका ग्रन्थहरू ‘द नाइन वे अफ बोन’ पहिलो पटक अङ्ग्रेजी भाषामा अनुवाद गर्नु भएर संसारलाई बोन बुद्ध दर्शनको बारेमा वास्तविक परिचय गराउनु हुने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ।
उहाँले हिमाली क्षेत्रमा आम्ची परम्परा शिक्षा विद्यालय र शिल्प विद्याको विद्यालय स्थापना गरेर उहाँले धेरै वर्षसम्म त्यसको आर्थिक व्यवस्थापन गर्नु भएको थियो।

५.उहाँले सन् १९८६ सालमा काठमाडौंको तीनघरेमा ‘ट्रितेन नोर्बुचे गुम्बा’ स्थापना गर्नुभयो । र, यसलाई बोन धर्माबलम्बीको नेपालकै ठुलो गुम्बाको रुपमा स्थापित गराउनु भयो । यहाँ बोन धर्म संस्कृतिको संरक्षण र साधना गरिन्छ। साथै गेशेसम्मको पढाई हुन्छ। नेपालभित्र इतिहास बोकेका पुरातात्विक महत्वका धेरै गुम्बा भए पनि गेशे उपाधीसम्म पूर्ण पढाई हुने यो एक मात्र गुम्बा हो ।
६.उहाँले ‘ग्याल्वा मेन्री’को ‘लोपोन’ (आचार्य)को उपाधी ग्रहण गरेर ‘ग्याल्वा डु’को परम्परा अनुसार उहाँले पूजाआजाको परम्परा जोगाउनु भयो । साथै प्राचीन सांस्कृतिक परम्परालाई लोप हुनबाट बचाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु भयो।

उहाँले बोन धर्मको इतिहास, संस्कृति, परम्परा र साधना सम्बन्धी २५ ठेलिभन्दा धेरै पुस्तकहरू रचना गर्नु भएको छ। उहाँले सन् १९६४ सालबाट ‘बोन धर्मको इतिहास’ नामक पुस्तक लेखेर लेखन कार्य शुभारम्भ गर्नु भएको थियो। यी पुस्तक बोन धर्मको अध्ययन र अभ्यास गर्नेहरूका लागि सुन्दर उपहार हुन्।
७. बाहिरबाट हेर्दा उहाँ सामान्य भिक्षु जस्तो देखिनु हुन्थ्यो। जीवनभर जनहितमा लाग्नु भएका पूजनीय रिन्पोछेज्यू सरल स्वाभावका हुनुहुन्थ्यो। उहाँको भित्री मन पनि सफा थियो। निरन्तर ध्यानमा लिन हुने उहाँ महापुरुष हुनुहुन्थ्यो।
श्रवण, चिन्तन, पठनपाठन आदि स्वभावसहित हाम्रा मांस चक्षुले दर्शन गर्न सक्ने लीलाले हामी अनुयायीहरूका परमार्थ गुरु हुनुहुन्थ्यो। ८. कलियुगको समयमा युङडुङ बोन धर्म संस्कृतिको रक्षा र प्रवद्र्धनका निम्ति मनुष्य लोकमा पाल्नु भएका पूजनीय रिम्पोछेज्यूको योगदान अतुलनीय छ। त्यसैले उहाँको योगदान सधैं अमर रहिरहनेछ।
अन्त्यमा
हामीले वि.सं. २०८१ माघ २४ गते काठमाडौंको ट्रितेन नोर्बुचे गुम्बामा भव्यताका साथ पूजनीय रिम्पोछेज्यूको शताब्दीऔं जन्मोत्सव मनाउने अबसर पायौं। उहाँको जीवनीबाट प्रेरणा लिएर हामी आफ्नो जीवनलाई सार्थक बनाऔं।

दुःखको कुरा, वि।स। २०८२ जेठ २९ गतेका दिन बिहान ७ः४५ बजे हाम्रा परमपूज्य योङ्जिन रिम्पोछेज्यूले काठमाडौंको शंखरापुर नगरपालिका वडा नं। ३ जहरसिंह पौवास्थित ध्यान केन्द्रमा महापरिनिर्वाण प्राप्त गर्नु भयो। त्यसपछि ९ दिनसम्म त्यहाँ पूजाअर्चना गरियो। र, आठ दिनसम्म थुक्टाम (ध्यानमा) बस्नु भएको थियो। ध्यान समाप्त भएपछि नवौं दिनमा उहाँको पार्थिव शरीर ९कुदुङ०लाई ट्रितेन नोर्बुचे गुम्बामा स्थानान्तरण गरियो। गुम्बामा धार्मिक विधि विधानअनुसार ४९ दिनसम्म उहाँको पूजा चलिरहेको छ।
उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको सुकर्मको उज्यालोमा हामी हिँडिरहनेछौं। युगयुगसम्म हामी उहाँलाई सम्झिरहनेछौं।
