काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीमा जन्मे हुर्केर तीन दशकभन्दा लामो समय शिक्षण पेशामा बिताएका टेकबहादुर जिरेलको कविताकृति ‘जिरीसिक्रीको सुसेली’ आइतबार काठमाडौंमा लोकापर्ण भएको छ।
पर्यटन प्रवर्द्धन मञ्च, नेपालले प्रकाशन गरेको पुस्तकमा जीवन दर्शन, मायाप्रेम र माटोप्रेम झल्काउने ७१ ओटा कविता सङ्ग्रहित छन्।

कार्यक्रमकी प्रमुख वक्ता कवि ज्योति जङ्गलले जिरेलका कवितामा जन्मथलोको सुगन्ध भेटिएको प्रतिक्रिया दिइन्। ‘जिरीसिक्रीलाई काँधमा बोकेर हिँड्नु भएका टेक सरका कविताले जीवनप्रति आशावादी हुन सिकाउँछ’, उनले भनिन्, ‘यसमा उहाँले माटोलाई माया गर्ने रोडम्याप देखाउनु भएको छ।’
नेपाल पर्यटन बोर्डको हलमा खचाखच दर्शकमाझ भएको कार्यक्रममा नेपाली कला, साहित्य र पत्रकारिताका अग्रज स्रष्टाको बाक्लो उपस्थिति थियो। त्यस अवसरमा विशिष्ट वक्ता हास्यव्यङ्ग्यकार मनोज गजुरेलले कवि टेकबहादुरलाई शुभकामना दिँदै जिरीसँगका सम्झना सुनाएका थिए। त्यसैगरी कार्यक्रमको सुरुमै जिरी नगरपालिकाका मेयर मित्र जिरेलले कविलाई माला लगाएर सम्मान गरे।

कार्यक्रममा कवि एवं आख्यानकार अनुपम रोशीले कवि टेकबहादुरसँग अन्तरसंवाद गरेकी थिइन्। रोचक ढङ्गमा सञ्चालित कार्यक्रममा जिरेल भूमि जिरीको इतिहास, कवितायात्रा, प्रेमिल जीवन र जीवन सङ्घर्षका विविध आयामबारे प्रश्नोत्तर गरिएको थियो।
कार्यक्रममा कवि टेकबहादुरसहित, डा. अभि सुवेदी, निर्मलमान तुलाधर, त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थी, नाटककार मनबहादुर मुखिया, साहित्यकारहरू रमेश श्रेष्ठ, शैलेन्द्र साकार, उषा शेरचन, सुलोचना मानन्धर, रोचक घिमिरे, मनोज गजुुरेल, ज्योति जङ्गल, अनुपम रोशी, पत्रकार शेखर खरेल र पर्यटन अभियन्ता लिलाराम खड्काले पुस्तक लोकापर्ण गरेका थिए।

‘हामीले योगदानको जीवन बाँच्नु भएका स्रष्टाको सम्मानमा यो किताब प्रकाशन गरेका हौं’, प्रकाशन संस्थाका प्रमुख लिलाराम खड्काले भने, ‘समाजलाई उज्यालो देखाउने प्रतिभाको सम्मान गर्न पाउँदा हामी खुसी छौं।’
‘जिरीसिक्रीको सुसेली’ जिरेलको पहिलो कृति हो। उनको आत्मकथा पनि रोचक एवं प्रेरणादायी हुने देखिन्छ। त्यसैले कार्यक्रम उद्घोषणको क्षणमा पत्रकार अमृत भादगाउँलेले अनुरोध गरे, ‘टेक सर तपाईंको आत्मकथाले हामीलाई जीवनमा सत्कर्म गर्न प्रेरणा दिनेछ। त्यसैले आजैबाट आत्मकथा लेख्न सुरु गरि हाल्नुस् है।’
हार्डकभरमा छापिएको पुस्तकको मूल्य ४९९ रुपैयाँ राखिएको छ।
कवि टेकबहादुर जिरेलसँग अन्तरक्रिया गर्दै कवि अनुपम रोशी ।
थप तस्वीरहरू:
प्रमुख वक्ता कवि ज्योति जङ्गल



कविलाई सम्मान गर्दै जिरी नगरपालिकाका मेयर मित्र जिरेल ।

कलाकार मनोज गजुरेल


पत्रकार अमृत भादगाउँले