काठमाडौं | हिन्दु समुदायमा जनै पूर्णिमाका दिन जनै लगाउने चलन छ। जनै धागोका तीन ओटा डोराद्वारा बनाइएको हुन्छ। यी तीन डोरा बोली, शरीर र विचारको प्रतीक हुन्।
बिहानै स्नान गरि देवदेवीको पूजा सकेर जनै लगाइन्छ। व्रतबन्ध गरेका पुरुषले मात्र जनै लगाउँछन्। रक्षा बन्धन भने सबैले लगाउँछन्। यसैगरि रक्षा बन्धन सुरक्षाको प्रतीक मानिन्छ। साथै हातमा बाँधेको रक्षा सूत्रले नाडी बलियो र सक्रिय हुन्छ। र, शरीरमा सकारात्मक ऊर्जा विकास हुन्छ।
जनैपूर्णिमाका दिनमा हातमा बाँधिएको डोरो तिहारको लक्ष्मी पूजाका दिनमा गाईको पुच्छरमा बाँधेर बिर्सजन गरिन्छ। यसो गरेमा मरेपछि वैकुण्ठ पुगिने जनविश्वास छ।
असल कर्म गर्ने व्यक्तिबाट मात्र रक्षा सूत्र लगाइन्छ। यसरी लगाउँदा भुइँमा बसेर वा जुत्ताचप्पल र अशुद्ध कपडा लगाउनु हुँदैन।
जनैपूर्णिमाका अबसरमा क्वाँटी खाने चलन पनि छ। नेपाल भाषाको शब्द ‘क्वाँटी’को अर्थ हुन्छ ‘तातो झोल’ । नेपाल भाषाको शब्द ‘क्वाँ’को अर्थ तातो र ‘टी’को झोल हो। यस्तो झोल सेवनले पनि शरीरमा ऊर्जा बढाउँछ।
विशेषतः ९ देखि १३ प्रकारका भिजाइएका गेडागुडी पकाएर क्वाँटी तयार पारिन्छ। यसमा चना, सिमी, वकुला, मास लगायत मिसाइन्छ।
यसै सन्दर्भमा जनै पूर्णेको अबसरमा काठमाडौंका बजारमा चहलपहल बढेको छ। शुक्रबार काठमाडौंको असन बजारमा पुग्दा किनमेल गर्नेहरूको संख्या राम्रै देखिन्थ्यो।

‘मान्छेको भिड त छ तर’, एक जना व्यापारीले भने, ‘यसपालि व्यापार भने कम छ।’
स्मरणीय छ, नेपालमा प्रयोग गरिने जनै स्वदेशी उपत्पादनले नपुग्ने भएकाले छिमेकी मुलुक भारत र चीनबाट समेत आयात गरिने व्यापारीहरू बताउँछन्।
पुरुषको रक्षा सूत्र

अग्नीप्रसाद सिग्देल
पूजारी, अर्जुनधारा जलेश्वरधाम, झापा
जनैपूर्णिमा हाम्रो सनातनी परम्परा हो। हरेक कर्म गर्न जनै धारण गरिन्छ। जनै धारणले पितृ पनि खुसी हुन्छन्। जनै आफैंमा रक्षा सूत्र हो। जसरी महिलाले सिन्दुर, पोते र गहना लगाउँछन्, त्यसैगरि पुरुषले जनै लगाउँछन्।
वर्तमान समयमा जनैपूर्णिमाका दिन मात्र जनै लगाउँछन्। र, भोलिपल्ट फ्याँक्ने गरेको पनि देखिन्छ। यस्तो गर्दा फल प्राप्त हुँदैन। जनैको सधैं ग्रहण गर्नु पर्दछ। विशेषतः ८ देखि १२ वर्षको उमेरभित्र व्रतबन्ध गरेर जनै लगाउने चलन छ। जनै धारण गरेपछि शुद्ध भइन्छ।
हेर्नुस शुक्रबार असनबजारमा देखिएको दृश्य


