पोखरा । पोखरामा आयोजित एक कार्यक्रममा विज्ञहरूले समग्र पर्यटन क्षेत्रको उन्नयनका लागि नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) महत्त्वपूर्ण भूमिका निवार्ह गरेको बताएका छन्। नाट्टा गण्डकी प्रदेशको ३०औँ वार्षिक साधारणसभाका वक्ताहरूले उक्त कुरा बताएका हुन्।
‘समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरेर अघि बढेका छौँ’, साधारणसभा उद्घाटनपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने, ‘पर्यटन अभियान सफल बनाउन नाट्टालगायत संघसंस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ।’
पोखरा पर्यटन राजधानी घोषणा भएसँगै यसले पर्यटन क्षेत्रको विकासका लागि लगानीहरू आकर्षित गरिरहेको उनले बताए। त्यसैगरी नाट्टा केन्द्रका अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका सदस्य कुमारमणि थपलियाले समग्र पर्यटन क्षेत्रको उन्नयनका लागि नाट्टाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
यो पनिः काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’
साधारणसभामा महासचिवको प्रतिवेदन चेतन कार्कीले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुवास पहारीले आर्थिक प्रतिवेदन। साथै, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, महासचिव चेतन कार्की, कार्यक्रम संयोजक संगीता पौडेल, पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा, नाट्टा सुदूरपश्चिम प्रदेशका महासचिव शिवहरि पाण्डे, बिहार पर्यटनका सोनु यादव, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र कार्यक्रम संयोजक संगीता पौडेलले सम्बोधन गरेका थिए।
काफ्ले सम्मानित
कार्यक्रमका नाट्टा गण्डकीले सञ्चालन गरेको ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’बाट होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवि काफ्लेलाई सम्मानित गरियो। नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहराको स्मृतिमा स्थापित एक लाख ११ हजार रुपैयाँको अक्षयकोषबाट बर्सेनि नाट्टा गण्डकीका सदस्य कम्पनीमध्ये सबैभन्दा पुराना एक कर्मचारीलाई नगद १० हजार रुपैयाँ, सम्मापत्र र दोसल्लाबाट सम्मान गरिँदै आइएको छ।