काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादशैँ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । बडा दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जसअन्तर्गत घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित देवी दुर्गाको आह्वान गरी पूजाआराधना गरिन्छ ।
आजका दिन नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा वा माटो गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा राखेर त्यसमाथि जौ रोपिन्छ । विजयादशमीको दिन दुर्गालाई चढाइएको यही जौको जमरा प्रसादका रूपमा टीकासँगै ग्रहण गरिन्छ, जसलाई समृद्धि र आयुर्वेदिक गुणको प्रतीक मानिन्छ ।
घटस्थापनामा स्थापन गरिएको कलशमा दुर्गा देवीको आह्वान गरी नवरात्रभर पूजा गरिन्छ । देवीका तीन रूप–महाकाली (शक्ति), महालक्ष्मी (धनसम्पत्ति) र महासरस्वती (विद्या) लाई वैदिक परम्पराअनुसार निरन्तर आराधना गरिन्छ । यसैगरी नौ दिनसम्म क्रमशः शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ रुपलाई नवदुर्गाको रूपमा पूजा गर्ने प्रचलन छ ।
नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका ग्रन्थको पाठ गर्ने परम्परा छ भने विभिन्न शक्तिपीठमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी र दशौँ दिन विजयादशमी विशेष रूपमा मनाइन्छ ।
यस वर्ष विजयादशमी असोज १६ गते पर्छ । देवी विसर्जनको साइत बिहान ९स्२३ मा र टीका लगाउने साइत ११स्५३ मा रहेको खगोलीय पञ्चाङ्गमा उल्लेख छ । दशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइने गर्दछ ।