काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । नवरात्रको नौ दिनसम्म दुर्गा माताका विभिन्न स्वरूपहरूको पूजा गरिन्छ । सोही क्रममा आज तेस्रो दिन दुर्गा माताको चन्द्रघण्टा स्वरूपको पूजा गर्ने परम्परा छ ।
माता चन्द्रघण्टा दुर्गा माताको तेस्रो स्वरूप हुन् । धर्मशास्त्र अनुसार शिरमा अर्धचन्द्रको आकारको घण्टा देखिने भएकाले उहाँलाई चन्द्रघण्टा भनिएको हो । शालीन रूपकी धनी देवीलाई सुगन्ध प्रिय मानिन्छ । चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नाश हुने, जीवनका बाधा हट्ने, शान्ति, मानसिक स्थिरता र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ ।
चन्द्रघण्टाको आराधनामा श्रद्धा–भक्तिपूर्वक अर्पण गरिएका फलफूल, पकवान तथा रातो रङका पुष्प प्रिय मानिन्छन् । विशेष गरी दूधका परिकार चढाउने प्रचलन छ । वैज्ञानिक दृष्टिले पनि देवी चन्द्रघण्टालाई सम्पूर्ण ध्वनि शक्तिको प्रतीक मानिन्छ । नित्य पूजा–अर्चनामा मणिपुर चक्रमा उहाँलाई ध्यान गरिन्छ ।
शास्त्र अनुसार देवी चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुन्छ । त्यसैले मन, वचन र कर्मले शुद्ध भई विधिपूर्वक चन्द्रघण्टाको पूजा गर्नुपर्ने बताइन्छ ।
माता चन्द्रघण्टाको उपासना गर्नाले आत्मबल र साहसको विकास हुने विश्वास छ । नवरात्रको तेस्रो दिनलाई आत्मशुद्धि र आध्यात्मिक जागरणतर्फ उन्मुख हुने अवसरको दिनका रूपमा पनि मानिन्छ ।