काठमाडौं । चामबहादुर पुन प्रेरणादायी लाहुरे हुन्। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा जन्मेहुर्केका उनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यहाँबाट सेवा निवृत्त भएपछि भने ब्रुनाइमा केही वर्ष काम गरे। पछिल्लो डेढ दशकदेखि उनी जन्मथलोको सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा क्रियाशील छन्।
उनको नेतृत्वमा काफलडाँडामा करबाकेली थान, पुन सामुुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर निर्माण गर्नुका साथै पुनहिलबाट काफलडाँडा हुँदै बेनी झर्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्रान्डिङ गरिएको छ।
-1758884690.jpeg)
पुन समुदायको कला, संस्कार र संस्कृति जर्गेना गर्ने अभियानमा होमिएका चामबहादुर ७० वर्षमा हिँड्दै छन्। धेरै किसिमका अनुभव सँगालेका उनले जीवनको पछिल्लो कालखण्डलाई सिर्जनात्मक बनाए।उनी बहुमुखी प्रतिभा हुन्। उनले पुन संस्कृतिका दुईटा चलचित्र बनाए, एज्यू भाग १ र भाग २। ती चलचित्रमा उनले पनि भिलेनको भूमिकामा अभिनय गरे। तर, जिन्दगीको रंगमञ्चमा चाहिँ उनी सकारात्मक भूमिका निर्वाह गर्ने ‘हिरो’ बनेका छन्।

यिनै प्रेरणादायी लाहुरेको जीवनकथा प्रकाशित छ, ‘लाहुरेको सङ्घर्ष’ । साथै उनको जीवनकथामा आधारित वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन : एन् एक्जेम्प्लेररी एक्स ब्रिटिस गोर्खा सोल्जर ।’ करबाकेली क्षेत्रलाई आध्यात्मिक पर्यटनधाम बनाउने अगुवा चामबहादुर पुनको योगदान स्तुत्य छ।
उनी उदाहरणीय लाहुरे हुन्। वर्षका अधिकांश समय नेपालमै बसेर जन्मथलोको विकासमा सक्रिय बन्छन्। उनको परिवार बेलायतमा बस्छ। यसपालिको दसैँ भने उनी काठमाडौंमा मनाउँदैछन्। एभरेस्ट पेडियाले उनका दसैँ र तिहार अनुुभूति रेकर्ड गरेको छ।