काठमाडौं । दशैंको नवमीदेखि एकादशीसम्म ललितपुरको बुङमतीमा मनकामना माताको विशेष आगमन हुने परम्परा छ । यो अवसरमा बुङमतीमा भक्तिभाव र सांस्कृतिक उल्लास भरिन्छ, जसलाई आजु वा मनकामना जात्रा नामले चिनिन्छ ।
यस अवधिमा गोरखास्थित मुख्य मनकामना मन्दिर बन्द गरिन्छ, किनभने माता स्वयम् बुङमतीमा उपस्थित हुने विश्वास गरिन्छ । त्यसैले दर्शनका लागि भक्तजन बुङमती पुग्ने गर्छन् ।
पर्वको प्रारम्भ बुङमतीस्थित मनकामना मन्दिरमा तान्त्रिक पूजाबाट गरिन्छ । पूजापछि मनकामना माताले रातो मच्छिन्द्रनाथको तीनपटक परिक्रमा गर्ने धार्मिक परम्परा छ, जसलाई उपत्यकाका संरक्षक देवतासँगको सामञ्जस्य र सांस्कृतिक सम्बन्धको प्रतीक मानिन्छ ।
पूजापछि मातालाई ह्याङ्ग्रीव भैरव मन्दिरमा प्रतिष्ठित गरिन्छ, जहाँ दिनभर पूजा र दर्शन हुन्छ भने राति गाउँभरि उत्साहपूर्ण यात्रा निकालिन्छ । अन्तिम दिन अर्थात् एकादशीमा मातालाई पुनः आफ्नै मन्दिरमा फर्काइन्छ ।
किंवदन्तीअनुसार, माता आफ्ना श्रीमान् राजा रामशाहसँग ज्यापु–ज्यापुनीको भेषमा मच्छिन्द्रनाथ जात्रा हेर्न बुङमती आएको भनाइ छ । त्यहाँका तान्त्रिक साधकहरूले उनलाई चिनेपछि यहाँ बस्न आग्रह गरे । तर, गोरखास्थित मूल मन्दिर नछोड्ने सर्तसहित माताले वर्षमा तीन दिन बुङमती बस्ने वाचा गरेकी थिइन् भन्ने विश्वास प्रचलित छ ।
यो पर्व केवल धार्मिक पूजाआजा मात्र नभई गोरखा र बुङमतीबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यसले साझा परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने काम गर्दछ ।