काठमाडौं
रञ्जु यादव मिथिला कलामा पारङ्गत छिन्। उनी मानवतावादी कलाकार हुन्। मिथिला कला तराईमा परम्परादेखि चल्दै आएको लोककला हो। विशेषतः महिलाले चाडपर्वमा घरका भित्ता तथा भुइँमा रंगविरंगका चित्र बनाएर सजाउने गर्दछन्। यसमा महिलाका भावना र अनुभूतिहरू व्यक्त गरिन्छ। कुनै चाडपर्व, बिहे आदि शुभकार्यमा यस्तो लोककला बनाइन्छ।
झलक्क हेर्दा टाढैबाट चिनिन्छ मिथिला कला। यसमा रामसीताको बिहे, अरिपन कला, कृष्णलीलाको गाथा, सूर्यको पूजा, छठ पर्व, गणेश चर्तुर्थी, होली, माछा, वनजङ्गल, रुख, मयूर, हात्ती, सुगा, कछुवा आदिका चित्र बनाउने चलन छ।
समयसँगै मिथिला कलाको विषयबस्तु र शैलीमा परिवर्तन भइरहेको छ। गाउँघरका महिला जसरी जीवन जिउँछन्, जसरी सोच्छन्, त्यही भाव चित्रमा उर्ताछन्। पढेलेखेका महिलाले बनाउने चित्रमा भने नवीनता पाइन्छ। शिक्षित महिलाले संसारलाई जसरी हेर्छन् त्यही अनुसारका भावना चित्रमा पोख्छन्।
गाउँघरतिर रामायण, महाभारत वा अन्य धार्मिक चित्र बनाउने चलन छँदैछ। कलाकार रञ्जुले भने चित्र मार्फत् सामाजिक सन्देश बाँड्दै आएकी छिन्। दाइजो प्रथा, छुवाछुत, भ्रुण हत्या, छोराछोरीबीचको विभेदका विरोधमा उभिएका छन् उनका कलाकृति। यसरी उनी कलाकर्मबाट महिला स्वतन्त्रता र सशक्तिकरणको पक्षमा वकालत गर्दै आएकी छिन्।
सप्तरीको सुरुङ्गा नगरपालिका–१०, थल्हामा जन्मेहुर्केकी रञ्जुसँग जन्मथलो, राजविराज र काठमाडौंमा पर्व मनाएको अनुुभव छ। एभरेस्ट पेडियासँग उनले दसैँ, तिहार र छठ पर्वका अनुुभूतिहरू बाँडेकी छिन्।