काठमाडौँ । देशका विभिन्न भागमा निरन्तर वर्षा र बाढी–पहिरोका कारण आज पनि सात स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार, देशभरका पाँच स्थानमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा कोशी राजमार्ग, इलाम नगरपालिका–९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु राजमार्ग, काभ्रेको रोसी गाउँपालिका–११ अन्तर्गत माम्तीखोला, डालाबेसी, बुल्ढुंगा र बाँझोखेत खण्डमा सडक पूर्ण अवरुद्ध भएको छ।
त्यस्तै, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा रोकिएको छ।
उता, धनकुटाको पाख्रिवास नगरपालिका–५ मा मध्यपहाडी लोकमार्ग र धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ र बकैया गाउँपालिका–११ घट्टेपाखामा पनि एकतर्फी सवारी आवागमन भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरेस्थित मदन भण्डारी राजमार्गमा पनि आज एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
एकतर्फी सञ्चालन भएका सडकहरूमा पनि सवारी साधनहरूको बाक्लो चाप रहेको प्रहरीले जनाएको छ।
