काठमाडौँ । जेन–जी आन्दोलनका कारण अस्थायी रूपमा नेपाल उडान स्थगन गरेको क्याथे प्यासिफिक एयरवेजले पुनः हङकङ–काठमाडौं उडान सुरु गरेको छ । असोज २२ गते (अक्टोबर १) नवमीका दिनदेखि क्याथेले ३१० यात्रु क्षमता भएको वाइडबडी विमानमार्फत दैनिक उडान सञ्चालन सुरु गरेको हो ।
क्याथेले १५ दिनका लागि उडान स्थगन गर्दा करिब ९ हजार यात्रुहरू-अमेरिका, अस्ट्रेलिया, जापानलगायत गन्तव्यतर्फ गएका नेपाली र विदेशी पर्यटक-प्रभावित भएका थिए । उडान स्थगनका कारण यात्रुहरूले अतिरिक्त खर्च व्यहोर्नुपर्यो र होटल बुकिङ गरेका धेरै पर्यटकले यात्रा रद्द गरेका थिए ।
भदौ २४ गते ह्यात होटलमा आराम गरिरहेका क्याथेका चालकदलका सदस्यहरूमाथि जेन–जी आन्दोलनकारीले दुर्व्यवहार गरेपछि कम्पनीले सेप्टेम्बर १५ देखि १५ दिनका लागि नेपाल उडान रोक्ने निर्णय गरेको थियो । आन्दोलनका क्रममा सुरक्षाको जोखिम बढेपछि क्याथेले जहाजमै पाइलट र क्याबिन क्रू राखेर उडान सञ्चालन गरेको थियो ।
कारागारबाट निस्केका कैदीहरू आन्दोलनमा सहभागी भई प्रहरीका हतियार लुटेपछि, क्याथेले आफ्ना कर्मचारीलाई होटलमा नराखी जहाजमै जगेडा सेटमा राख्ने नीति लिएको थियो ।
क्याथे प्यासिफिकको काठमाडौं कार्यालयका एयरपोर्ट अपरेशन म्यानेजर अबित श्रेष्ठका अनुसार, त्यतिबेलाको सुरक्षाजन्य परिस्थितिलाई ध्यानमा राख्दै तत्कालका लागि उडान रोकिएको थियो ।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भने, “क्याथेले नेपाल उडान पुनः सुरु गर्नु पर्यटनका लागि निकै सकारात्मक संकेत हो । आन्दोलनका कारण पर्यटक आगमनमा करिब ४० प्रतिशत असर परेको थियो, तर अहिले बजार पुनः लयमा फर्किंदै छ ।”
ट्राभल व्यवसायीहरू क्याथेको पुनरागमनले हर्ष व्यक्त गर्दै टिकट बजारमा प्रतिस्पर्धा र यात्रुहरूका लागि विकल्प बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।
ओशो वर्ल्ड ट्राभल नेपालका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भने, “क्याथेले उडान सुरु गर्नु यात्रुका लागि राहत हो । यसले टिकट दर घटाउने र नेपालका विमानस्थल, सरकार र ग्राउन्ड ह्यान्डलिङ कम्पनीलाई आम्दानी बढाउनेछ ।”
हाल नेपालमा क्याथेसहित २७ वटा विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । साथै, नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स र बुद्ध एयर पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छन् ।