१.
कुनै मीठो वेदनाले भित्रभित्रै आहत थियो
पारिजातझैं बिहानसम्म ऊ प्रतीक्षारत थियो ।
सफरको दु:ख कष्ट, उसलाई कुनै चासो होइन
भनुँ भने उसलाई पनि जरूर मेरो आदत थियो ।।
२.
तोल्न चाहे पो यहाँ रत्ति बुझिन्छ, मासा पनि बुझिन्छ
बुझ्न चाहे पो यहाँ हृदयको भाषा पनि बुझिन्छ ।
मुखले केही नबोले पनि आँखा त मनको ऐना हो
आँखामा हेरेर आशा बुझिन्छ, निराशा पनि बुझिन्छ ।।
३.
यो कुहिरो हटेपछि मात्रै यहाँ घाम भेटिन सक्छ
त्यही उज्यालोमा कतै यहाँ राम भेटिन सक्छ ।
हुन त यो लेनदेनको स्वार्थी बजार हो तर यहाँ
घाइते मुटुका लागि पनि कतै सर्जाम भेटिन सक्छ ।।
४.
तिमीभित्र आँधीको एक बवंडरजस्तै छ
अस्तित्व चाहीं सुकेको पतिंगरजस्तै छ ।
हेर्नू, आफ्नै छालहरूले डुबाउलान् कतै
तिम्रो प्रेम सुनामीमय समुन्दरजस्तै छ ।।
५.
उचाइदेखि डर लाग्छ, धरातलमै ठिक छु म
झर्ना होइन खोलाको कलकलमै ठिक छु म ।
पंख फैलाउनु छैन, उडान भर्नु पनि छैन
यतै, आमाको सुरक्षित आँचलमै ठिक छु म ।।
६.
सागर भेट्ने वेग थियो नदीमा त्यति बेला
भत्किए नि होलान् सयौं सीमा त्यति बेला ।
आभासमात्रै पनि कता कता मिठो हुने
कहाँ त्यो सुगन्ध जाई, जुहीमा त्यति बेला ।।
७.
परिचय सोधेमा मेरो नाम भनिदिनू
यात्रामात्रै आफ्नो खास काम भनिदिनू ।
यही हो आँखिरी पडाब, यही हो गन्तव्य
बढी कुरा सोध्नेलाई सलाम भनिदिनू ।।
८.
नभेटे नि भेटिएझैं भा छ हेर सानु
केही कुरा रेटिएझैं भा छ हेर सानु ।
माया भए यो दूरी त कति नै पो हो र ?
मनको प्यास मेटिएझैं भा छ हेर सानु ।।
९.
शीसाको पर्दा पनि फलामजस्तो भो
बाटो स्वयम् अकस्मात लगामजस्तो भो ।
संलाप मनभित्रभित्रै बिजुली चम्केझैं
स्वागत पनि हतारे सलामजस्तो भो ।।
१०.
छेउ न टुप्पो हावा गफ दिन्छन् केटाहरू
ग्याङ बनाई निहुँ खोज्दै हिन्छन् केटाहरू ।
स्वास्थ्य र भविश्यप्रति कस्तो लापरवाही
हुक्का, गाँजा, ड्रग्स के के लिन्छन् केटाहरू ।।
११.
बग्दैछ सृष्टिको नदी अविरल प्रतिपल
हुँदैछ ब्रह्माण्डभित्र कलकल प्रतिपल
यौटै फूलको साक्षात्कारले कता कता आज
भित्रभित्रै हुँदैछ मन निर्मल प्रतिपल
१२.
सजाएँ सदभावका फूल, अबिर जसको नामले
बनाएँ आत्मीयताको मन्दिर जसको नामले
टाउकामा टेकेर उसले अट्टहास गर्दैछ
झुकाएँ भरोसा गरी यो शिर जसको नामले