काठमाडौं |
लोकप्रिय गीतकार रमेश पौडेलले आफ्नो युट्युव च्यानल आवरण क्रियसन मार्फत् कर्णालीको मनमोहक रारातालको सौन्दर्य झल्काउने गीत सार्बजनिक गरेका छन्।

प्रविधिसित अपडेट भई रहने गीतकार पौडेलले सुनो एआइमा २४ वर्ष अघि लेखेको गीत खन्याए। गीतको धून आफैँले निकाल्न लगाए र गाउन लगाए। उनले एभरेस्ट पेडियासँग भने, ‘भिडियो बनाउन केही हप्ता लाग्यो, साराकै ओरिजिनल क्लिपहरू रारा पुगेकै साथीहरूले उपलब्ध गराउनु भयो अनि यो लिरिकल भिडियो तयार पारेँ।
खासमा मुगु जिल्लाको रारा ताल र यसको वरपरको क्षेत्रमा पर्यटन, संस्कृति, कला र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले २०५८ साल कार्तिकमा ‘प्रथम रारा महोत्सव’ आयोजना गरिएको थियो। त्यसको समाचार सङ्कलनका लागि काठमाडौँबाट रेडियो, टेलिभिजन र अखबारका एक दर्जन पत्रकार पुगेका थिए। रेडियो नेपालमा कार्यरत कवि, गीतकार रमेश पौडेल पर्यटन विशेष ‘देश दर्शन’ कायक्रम चलाउथेँ। रारा पुगेपछि केही पत्रकार साथीहरूलाई उक्साएर पूरै रारा ताल फन्को लगाऔं भने। उनलाई साथ दिए– पत्रकार चुडामणि भट्टराईले मात्र।
रारा घुमेर तालकै छेउमा बसेर रमेशले गीत लेखे–
आहा........ रारा......
स्वर्गकी अप्सरा !
रारा भेटदा पहिलोचोटि, यस्तो मोह जाग्यो
पहिलोचोटि रारा पुग्दा, यस्तो मोह जाग्यो
मिल्ने भए आँखाबाट, निलूँजस्तो लाग्यो !
जति हेर्याे त्यति राम्री, प्यास नमेटिने
धरतीकै स्वर्ग यहीँ छ, कहीँ नभेटिने
छोऊँ भने दाग लाग्ने, एकान्तकी रानी
ब्युँझदा नि हेरिराख्छु, आँखा तानीतानी !
गलाभरि सुहाउने, मुगाली माला जस्तै
स्वर्गबाट झरेकी, अप्सराको चाला जस्तै
रारा तिमी सौन्दर्यकी, आहा अनुपम खानी
तिम्रै छेउ बिताऊँ लाग्यो बाँकी जिन्दगानी !
आहा........ रारा...... स्वर्गकी अप्सरा !
पौडेलको यो गीत उनकै गीतसङ्ग्रह ‘आभासित आलाप’ मा छापिएको छ।
भिडियाे :