पोखरा
आख्यानकार उमा सुवेदीको नवीनतम् उपन्यास ‘परिधि’ उत्कृष्ट कृति रहेको पोखरेली समीक्षकले टिप्पणी गरेका छन्। शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको ‘परिधि’ को परिचर्चा कार्यक्रमका वक्ताहरूले उनको पुस्तक पठनीय भएको बताए। समिक्षकद्वय डा. ईश्वरमणि अधिकारी र गौरी तमूले ‘परिधि’को सबल र दुर्बल पक्षका बारेमा चर्चा गरेका थिए।
समिक्षकद्वय डा. ईश्वरमणि अधिकारी र गौरी तमूले उमा सुवेदीको उपन्यास ‘परिधि’ पठनीय कृति भएको बताए।

‘यस कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्र र त्यसैको वरपर रहस्यपूर्ण तवरले स्वैकाल्पनिक रंगहरूमा पोतिएका कथा–उपकथाहरू क्यानभासमा जेलिंदै–फुस्किंदै र फेरि जेलिंदै एक अलग परिधि निर्माण गरेको छ’, अधिकारीले भने, ‘बुनोट, कथ्यहरूको प्रयोग र शैलीका हिसाबले परिधि उनका पूर्ववर्ती उपन्यासहरूभन्दा धेरै अर्थले उत्कृष्ट बनेको छ।’ ।
परिधिले मान्छेको मन, मस्तिष्क र चेतनाको कुरा बताउन खोजेको बताउंदै यसका पात्रहरूको भोगाइ र सोचाइ आम मान्छेहरूभन्दा बिल्कुलै फरक भएकैले पनि कृतिमा रहस्य, कौतुहल, जिज्ञासा र सम्भावनाहरू सबै जीवन्त रहेको बताए। समग्रमा कृति पढिरहँदा मज्जा लाग्ने, अरूको दुख, विषाद पढ्दा पनि झ्याउ नलाग्ने तर परिधि पढिरहेको पाठक बेलाबेला थ्रिलर अनि सस्पेन्स शैलीको दक्षिण भारतीय चलचित्र हेरेझैँ रोमान्चित हुने बताउंदै कथानक कहीं केन्द्र उन्मुख त कहीं परिधि उन्मुख भएको बताए।

आख्यानमा दीर्घकालसम्म सम्झिने विषय खासै नरहेको बताउँदै अलिक बढ्ता विषाद र दुखी–आत्माहरूको केन्द्रीयता रहेकामा गुनासो व्यक्त गरे।
अर्की समीक्षक तमुले नारी जीवनका विभिन्न पाटाहरूको कथालाई परिधिले सम्बोधन गरेको बताइन् ।
कार्यक्रममा आख्यानकार सुवेदीले परिधिको रचना गर्भबारे जानकारी गराउँदै पोखरेलीलाई धन्यवाद दिइन्।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि सुरु भएको नेपाली आख्यान लेखनका विविध मोड र चरणहरूसहित मायिक यथार्थवाद तथा स्वैरकाल्पनिक लेखनका सौन्दर्य र चुनौतीमाथि चर्चा गर्दै समकालीन लेखनका आयाममाथि प्रकाश पारेका थिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापा, सचिव एम डि काफ्ले र अध्यक्ष रिता अधिकारी ‘ऋतु’ ले पनि सम्बोधन गरेका थिए।
