काठमाडौं ।
मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो ः जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ।
प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वसांसद प्रमिला राई, अधिकारकर्मी बमकुमारी बुढा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष युवराज राई र लेखकले शनिबार काठमाडौंमा कृति सार्वजनिक गरेका हुन्।
डा. सुमाया राई
वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिएकी डा. राई त्रिभुवन विश्वविद्यालयका पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुन्। उनले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई उधिनेर यो पुस्तक लेखेकी हुन्। उनकै रचना, डीआर अटुको संगीत र राजेशपायल राईको स्वर रहेको ‘जिन्दगी फूल सम्झे फूलै हो’ बोलको गीतलाई कृतिको नाम दिइएको हो।
उक्त कृतिबारे डा. शान्तिमाया गिरी र कैलाश राईले समीक्षा गरेका थिए। साँढे पाँचसय पृष्ठमा विस्तारिक कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन्। यसैगरी लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची र तस्बिरहरू संलग्न छन्।

डा. राईको यो पाँचौं कृति हो। यसअघि ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता संग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत संग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता र गीत संग्रह, २०७५) प्रकाशित छन्। यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास, पहिचानलाई उजागर गरेको समीक्षकहरूले बताए।