काठमाडौं
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ मा अवस्थित रमणीय गन्तव्य ‘सुनदह’ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय वडाध्यक्ष बमबहादुर बुढा मगरले एउटा सुन्दर वृत्तचित्र बनाएका छन्।
सुनदहलाई संसारभर चिनाउन वृत्तचित्र बनाइएको हो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा नेपाल पर्यटन बोर्डको हलमा बुधबार उक्त वृत्तचित्रको प्रिमियर शो गरियो।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् रुकुम पूर्वका सभासद दाहाल, लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढा, गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, वडाध्यक्ष बमबहादुर, पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया लगायतले सम्बोधन गरेका थिए।


सुनदह (४,४३५ मिटर)मा जनैपूर्णिमामा मेला लाग्छ। उक्त अबसरमा छिमेकी जिल्ला डोल्पा र रुकुम पूर्वका स्थानीय दहको पानीले स्नान गर्दछन्। उनीहरू यहाँको पानीलाई ‘सुनपानी’ मानेर घरमा लगेर पूजा गर्छन्।
उचाइमा सुनदहसहित दर्जनौं तालतलैया छन्। एकै ठाउँमा पाँच ओटा कुण्ड पनि छन्। तिनका वरपर चरिरहेका भेडाच्याङ्ग्रा, घोडा र खच्चरको दृश्यले मनै लोभ्याउँछ। साथै रंगविरंगका भुइँफूलले रंगीन देखिन्छ।

ताल क्षेत्रमा दुलर्भ जनावर र चरा पाइन्छन्। रेडपान्डा, डाँफे, मुनाल, कस्तुरी, नावर, झारल, हिउँचितुवा, भालु आदि। पदमार्गमा हिँड्दाहिँड्दै तिनको दर्शन पाइन्छ।
भिडियो
सुनदह ढोरपाटन शिकार आरक्षको ‘सुनदह ब्लक’ मा पर्दछ। रन्मा गाउँबाट कस्सिएर हिँड्दा डेढ दिनमा तालमा पुग्न सकिने वडाध्यक्ष बताउँछन्।

सुनदहलाई अर्गानिक पदमार्गका रुपमा ब्रान्डिङ गर्न सकिन्छ। सुनदह भएर डोल्पा निस्केर फोक्सुन्डो तालको पदयात्रा गर्न सकिन्छ। यसका लागि आफ्नो क्षेत्रमा पदमार्ग निर्माण र सुधारमा वडाध्यक्ष सक्रिय छन्।
यतिबेला सुनदह क्षेत्र हिउँले ढपक्कै छ। त्यहाँको यात्रा वर्षामास गर्नु पर्दछ। काठमाडौंबाट कम्तिमा १ हप्ता समय लिएर पदयात्रा गर्न सकिन्छ।

स्याबास बमबहादुर !
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बमबहादुर बुढा मगरले सुन्दर वृत्तचित्र बनाएर सबैको स्याबासी पाएका छन्। पर्यटनबाट जीवन उकास्न सकिने उनले देखेका छन्। त्यसैले उनी निर्वाचित भएसँगै पर्यटन प्रवद्र्धन र विकासमा सक्रिय हुँदै आएका छन्।
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बमबहादुर बुढा मगर
उनको गाउँबाट कस्सिएर हिँड्दा डेढ दिन लाग्छ, सुनदह पुग्न। उनले छोटो पदमार्ग खेलिरहेका छन्। दुई ठाउँमा धर्मशाला बनाइसके।
‘वनजङ्गल नमासिने गरी पदमार्ग बनाउँदेछु। बिचमा एउटा पुल बनाउनु पर्ने छ’, उनी भन्छन्, ‘नयाँ पदमार्ग व्यवस्थित गर्न मलाई तीन करोड रुपैयाँ चाहियो। त्यति रकम पाएमा म सुनदहलाई सुनजस्तै बनाइदिन्छु ।’
लुम्बिनी प्रदेश सरकार र केन्द्र सरकारले आवश्यक बजेट दिनुपर्ने उनको माग जायज छ। यसो गर्न सके संसारभरका पर्यटकका लागि सुनदह आकर्षक गन्तव्य बन्न सक्नेछ।
वृत्तचित्र निर्देशक एवम् पर्यटन अभियन्ता बमबहादुर बुढा मगरलाई शुभकामना !