काठमाडौँ।
‘वर्तमान कविता समूह’ ले शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा ‘वसन्त कविता महोत्सव’ मनाएको छ। उक्त कार्यक्रममा नेपाली कविहरूले मौलिक भावना र संवेदनाहरू अंग्रेजी भाषा मार्फत् प्रस्तुत गरे।
महोत्सवमा प्रस्तुत कविताहरूले सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा र मानवीय अस्तित्वका विविध पाटालाई समेटेका थिए।
नेपाली माटोको सुगन्ध र भोगाइहरूलाई अंग्रेजी शब्दावलीमार्फत् विश्वव्यापी बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ ले अन्य भाषाहरूमा पनि यस्ता बहुभाषिक अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना बनाएको जानकारी दिए। उनले आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत् आधुनिक सभ्यता र राजनीतिमाथि कडा व्यङ्ग्य प्रहार गरे, जहाँ नेताहरूले संसद्बाट बाहिरिँदा बुद्धु बन्दा बन्दै बुद्धको भेष धारण गरेको ढोंग गर्छन्।
विश्व सिग्देल
यस्तै, कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षक कवितामा बाबु र छोराको संवादमार्फत् आकाशलाई विश्वास र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गरे।
भीष्म उप्रेती
कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत् उज्यालोको प्रतीक्षामा रहेका सिर्जनशील आँखाहरूको कथा सुनाइन् भने कवि अभय श्रेष्ठले ‘लभः अ मेडिटेटिभ स्लीप’ मार्फत् प्रेम र निद्राको अन्तरसम्बन्धलाई जोड्दै देश गुमाउनुको पीडा र अस्तित्वको संकटलाई गहिरो गरी प्रस्तुत गरे।
रजनी मिला
अभय श्रेष्ठ
कवि सुमन वर्षाले ‘लुज’ शीर्षक कविता वाचन गर्दै आफ्ना इन्द्रियहरूलाई त्यागेर जीवनको वास्तविक उत्सव र शान्ति कसरी पाउन सकिन्छ भन्ने दार्शनिक पक्ष उधिनिन्।
कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत् भविष्यमा समानता आउने र सिमान्तकृत पात्रहरूले न्याय पाउने आशावादी दृष्टिकोण राखे।
कवि करुणा नेपालले ‘न्यू विगिनिङ’ शीर्षक कविता वाचन गर्दै पीडा र निराशापछिको नयाँ सुरुवातको उत्साहलाई व्यक्त गरिन्। कवि तेजिन एमिल इजमले आफ्नो शीर्षक विहीन कवितामार्फत् (जुन उनले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित भई लेखेका थिए) शान्तिका लागि चढाइएको फूल कसरी बारुद र घृणाको धुवाँमा परिणत हुन्छ भन्नेमा आक्रोश र अन्योल व्यक्त गरे।
वातावरणीय चेतका साथ कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत् हराउँदै गएका नदीहरू र भू–माफियाको कब्जामा परेको प्रकृतिको कारुणिक अवस्था चित्रण गरे।
कवि कृपा खनालले ‘लुकिङ फर अ म्यूज’, ‘ब्रीदिङ विथ द म्यूज’ र ‘लेसन्स फ्रम अ म्यूज’ गरी तीन खण्डमा सहरी जीवनका प्रेरणा र उडानको कलाबारे कविता सुनाइन्।
कृपा खनाल
कवि भुवन थपलियाले ‘स्प्रिङ’ शीर्षक कवितामा प्रकृति र वनसँगको सामीप्यताले नै मानिसको आत्मा शुद्ध हुने भाव व्यक्त गरे। कवि आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत् सहरीकरणले प्राकृतिक सौन्दर्यलाई कसरी कुरुप बनाउँदैछ भन्ने यथार्थ प्रस्तुत गरे।
भुवन थपलिया
कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत् गरिबीको मूल्य र सामाजिक अन्यायको नग्न तस्बिर कवितामा खिचे।
कवि रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत् प्रेमको जादुमयी भ्रमबाट मुक्त हुने चाहनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिन्।
रमी प्रिया
कवि चन्द्रबहादुर लामाले ‘कोइसन’ शीर्षकको कवितामार्फत् आफ्ना ‘कमरेड’ ले गरेका बाचा र देखाएका सपनाहरू अधुरा रहेको भन्दै राजनीतिक धोकामाथि प्रश्न उठाए। कवि धीरकुमार श्रेष्ठले मृत्युको मौनता र अन्तिम यात्राको यथार्थलाई ‘द कल’ मार्फत प्रस्तुत गरे।
चन्द्रबहादुर लामा
कार्यक्रममा कवि हरीश अधिकारीले प्रतिकूल मौसममा पनि अस्तित्व जोगाउन संघर्ष गर्ने बिरुवाको प्रतीक प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाए।