काठमाडौं ।
साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ बजारमा आएको छ।
शारीरिक रुपमा स्वस्थ, हृष्टपुष्ट, सधैँ हँसिलो र सधैं रसिलो डा. पुडासैनीलाई एक्कासी नेजोफेरेन्जियल कार्सिनोमा नामको क्यान्सरले आक्रमण ग¥यो। रोग लागेको थाहा पाउनेवित्तिकै उनले उपचार गरिहाले। थेरापी र औषधिको असरले उनको शरीर घाउ नै घाउको जीर्ण पोको बन्यो। आवाज बन्द भयो, स्वाद पूर्णतः हरायो, पानी निल्न असाध्यै गाह्रो भयो, उपचारकै क्रममा चौध किलो तौल घट्यो, टोटल व्लड काउण्ट, सुगर, नुन, प्रेसर सबै घटेर बेला बेलामा मृतप्रायः बनायो। उनले विज्ञानले गरेको प्रगतिमाथि भरोसा गरेर मृत्युलाई जिते।
डा. दामोदर पुडासैनी ‘किशोर’
उनले मृत्यूसँग सङ्घर्ष मात्र गरेनन्, आफ्ना ताता अनुभव र अनुभूतिहरू सँगालेर एउटा अस्तित्ववादी मनालाप कृति लेखे, ‘कालो आँधी’ शीर्षकमा। मृत्युविरुद्ध लडाइँ र जीवनप्रतिको आशाको मधुर धुन गुञ्जिरहेको यो कृतिलाई रत्न पुस्तक भण्डारले छापेको हो।
पुुस्तकको भूमिकामा समालोचक प्रा.डा. नेत्र एटमले लेखेका छन्, ‘डा. दामोदरको कालो आँधी सुनाउन लेखिएको होइन, अनुभूत गराउन रचिएको हो। यो छटपटीको बेला वा मनस्तापले ग्रस्त अर्धबेहोसी अवधिमा प्रकटित अभिव्यञ्जना हो। कालो आँधीमा दामोदर पुडासैनी ‘किशोर’ ले क्यान्सरको निकट पुगेर फर्केको अवधिमा जीवनलाई गहन पुनराबलोकन गरेका छन्, कसले के भन्ला भन्ने कुरालाई बालै नदिई आफ्ना चिन्तन, चिन्ता, विचार र भावनालाई लगभग ‘मृत्युनिकटको सङ्कल्पनाकै रुपमा शाब्दिक प्रदर्शन गरेका छन्। मनालापमा देखिएको फरक चिन्तनले लेखक पुडासैनीलाई सामाजिक इञ्जिनियरको सुनिश्चित प्रतिष्ठा प्रदान गर्छ ।’
आफ्नो पुस्तकका सम्बन्धमा डा. ‘किशोर’ले लेखेका छन्, ‘जीवन र मृत्युको लडाइँको मझधारमा बसेर लेखिएको मनको आलाप हो— कालो आँधी। यो जीवन र परिवेश उधिनेर जीवनको मर्म खोतलेको एवम् मान्छे र समाजको मूल्य खोतलिएको अभिलेख पनि हो। यसमा रोगलाई केन्द्रमा राखेर समाज, मान्छे र संसारको दार्शनिक ढङ्गले चिरफार गर्ने प्रयास गरिएको छ। यसमा मृत्युको घातक पञ्जा पन्छाएर जीवनको गोरेटोमा फर्कंदाका अनुभूति छन्, मान्छेको अस्तित्वमा सामाजिक सान्निध्यले पारेका प्रभाव छन् र मृत्युले निकटबाट झस्काइरहेका बेला समाजको सामिप्यता र जीवनको अस्तित्वधारी उत्सवका रङ्गहरू पनि छन्। वास्तवमा यो पीडाको आँखुले लेखेको कृति हो।’
यो पुडासैनीको एक्काइसौं कृति हो। यसअघि उनका एघार कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह, एक दर्शनसङ्ग्रह, र एक आर्थिक व्यवस्थापन विधाका कृतिहरू प्रकाशित भैसकेका छन्।
प्रकाशक रत्न पुस्तकका प्रमुख गोविन्द श्रेष्ठ तथा प्रवन्ध निर्देशक सुरेश श्रेष्ठले ‘कालो आँधी’ मुलुकभित्रका प्रमुख सहरमा उपलब्ध भइसकेको जनाएका छन्।