जनकपुरधाम। धार्मिक महत्तव बोकेको नेपालको प्रसिद्ध धार्मिक स्थल जनकपुरधाम परिसरमा अबदेखी मन्दिरको कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।
बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको सो बैठकले जानकी मन्दिरले परम्परा देखि आयोजना गर्दै आएको विवाहपञ्चमी, रामनवमी जस्ता धार्मिक कार्यक्रमहरू गर्नमा कुनै प्रकारको अवरोध नहुने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए ।
हालै मात्र जनकपुर साहित्य महोत्सव जानकी मन्दिर परिसरमा सम्पन्न भएका थिए । अब जानकी मन्दिरमा त्यस्ता कार्यक्रम गर्नमा निषेध गरेको छ । जानकी मन्दिरमा कार्यक्रम गर्दा मन्दिर फोहर हुनुका साथै सुरक्षा चुनौती बढ्ने भएको भन्दै कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय सर्वपक्षीय बैठकले गरेको छ ।
जानकी मन्दिर परिसरमा कार्यक्रम गर्दा हालै मात्र लगाइएको मार्बल फुट्ने गरेका छन् । यसै गरि जानकी मन्दिर वरिपरि रहेको पसलहरू पनि व्यवस्थित गरिने भएको छ । यसका साथै परिसर बाहिरको भागमा पूजाका लागि आवश्यक भएको फूल, माला तथा टिकाहरू व्यवस्थित रुपमा बिक्री वितरण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।