काठमाडौं। कोभिड महामारी पछि चीन सरकारले आफ्ना नागरिकहरुका लागि लक्षित पर्यटकीय गन्तव्यमा सार्वजनिक गरेको छ ।
यही मार्च १५ तारिखबाट लागू हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको वेइपोमा दोश्रो चरणका लागि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्नसक्ने सूचना प्रकाशित गरेको हो ।
शुक्रबार बेइजिङस्थित नेपाली दूतावासले पनि सूचीमा नेपालसहित २० मुलुक समेटिएको पुष्टि गरेको छ।
कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित पर्यटकीय एजेन्सीहरूले होटल, एयर टिकट लगायत व्यवस्थापन गर्नसक्ने सूचना जारी गरिएको माइक्रोब्लग वेइपोमा उल्लेख छ।
कोभिड–१९ पछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र चीन सरकारले पर्यटकीय गन्तव्यमा नेपाललाई समेत समावेश गरेपछि पर्यटन क्षेत्रमा उत्साह देखा परेको छ । नेपाल भित्रने पर्यटकहरुको संख्यामा भारत पछि चीन दोस्रो स्थानमा रहेको छ।
यसअघि गत माघ दोश्रो सातातिर पहिलो चरणमा नेपाल समावेश नभएपछि पर्यटन सम्बद्ध नेपाली निकायहरूका तर्फबाट चीन समक्ष आग्रह गरिएको थियो। उक्त आग्रह पछि चीनले नेपाललाई समावेश गरी सूची प्रकाशित गरेको हो ।
यसअघि प्रकाशित २० गन्तव्यमा दक्षिण एसियाका माल्दिभ्स र श्रीलंका मात्रै परेका थिए भने यसपटकको सूचीमा नेपाल पनि समावेश भएको छ ।