हुम्ला। विशेषगरी क्षत्री समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक गाउनप्रति महिलाको आकर्षण बढ्दै गएको छ। परम्परादेखि लगाउँदै आएको पोसाक गाउन बीचको केही समय लोप हुने अवस्थामा पुगेको भए पनि पछिल्लो समय महिलामा सो पोसाकमा चासो बढ्दै गएको हो।
सिमकोट गाउँपालिका–५ की केसीकला रावतले विवाहित महिलाले अनिवार्य रूपमा लगाउनुपर्ने गाउन (धोती)प्रति पछिल्लो समय आकर्षण बढ्दै गएको बताइन्।
उनले घरेलुको धोतीबाहेक अन्य समय जहिल्यै पनि सो गाउन लगाउने गर्दै आएकी छिन्। अधिकांश महिलाले बीचको समयमा गाउन लगाउनै छोडेको भए पनि हाल आएर विशेष अवसर, मेला पर्व र चाडबाडमा भने अनिवार्यजसो गाउन लगाउन थालेपछि यसको महत्व वृद्धि भएको बताइन्। त्यही भएर विवाहित महिलाले एकदेखि दुई जोर गाउन अनिवार्य रूपमा तयार गरेर राख्दै आएका छन्।
पछिल्लो समय पाका महिला आफैँ पनि गाउनको संरक्षणमा लागेका छन्। यतिसम्म कि आफ्ना बुहारी, छोरी, बहिनीलाई समेत गाउन तयार गरेर दिने गर्दछन् भने विशेष अवसरमा गाउन लगाउन पनि उनिहरूलाई हौस्याउने गर्दै आएका छन्। संस्थागत रूपमा गाउनको संरक्षणमा केही प्रयास नभएको भए पनि महिलाहरू आफ्नै तवरबाट यसको संरक्षण र पछिल्लो पुस्तालाई लगाउनका लागि प्रेरित गर्दै आएको रावतले बताइन्। उनले छोरी र बहिनीलाई गाउन तयार गरेर उपहारसमेत दिएकाे खबर गाेरखापत्र अनलाइनमा प्रकाशित भएकाे छ ।