काठमाडौँ। कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ।
जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्देश्यले १ करोड ५० लाख रुपैयाँको लागतमा म्युजियम सञ्चालनमा ल्याइएको क्याप्टेन वेद उप्रेतीले बताए।
प्रदेशको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गरि म्युजियमा प्रदेशमै उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको तस्बिर राखिने सञ्चालकले बताएका छन्।
नौ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो।
“कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो।” उप्रेतीले भने “यसमा एकै पटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन्।”
‘क्याप्टेन उप्रेती ट्रष्ट’ले महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मूर्ति र स्विमिङ पुल निमार्ण गरेको छ। उनले सुदूरपश्चिम क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत सुन्न सकिने बताए। म्युजियम प्रवेशका लागि प्रति व्यक्ति एक सय रुपैयाँ तथा विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।