काठमाडौं। नेपाल एयरलाइन्सले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ।
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको हो।
एक वर्षअघि काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले मंगलबार (आज) पहिलो पटक मलेसियाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान भरेको हो।
आज बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा आएको निगमको ९ एन ए केएक्स १ सय ५८ सिट क्षमताको न्यरोबडी बिमान अवतरण गरेको थियो। मलेसियाका पर्यटन व्यवसायीहरू सहित आएको विमानलाई पर्यटन मन्त्री किराँती तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी एवं यस क्षेत्रका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्।
निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन्।
मलेसियाबाट भैरहवाको उडान समय ४ः४५ मिनेट हाराहारी रहेको छ। भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं आएको छ। न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ।