पोखरा। सन् २०२३ जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा बुधबार (आज) पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ।
चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो।
विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीका अनुसार सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गने लागेको हो।
“उडानको सबै तयार पूरा भइसकेको छ, यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको छ”, उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो।
उक्त जहाजबाट हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन्।
जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारीले बताए। उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ।