पाेखरा। साहसिक पर्यटकीय खेल हट एयर बेलुन उडान पोखरामा सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ।
मनसुनका कारण बन्द रहेको उडान सेप्टेम्बर १ देखि पुनः सुरु हुन लागेको हो।
बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार पोखराको पामेबाट हट एयर उडान हुने बेलुन करिब ६ हजार फिट माथिसम्म उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ। उनका अनुसार एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन्।
बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने उनले जानकारी दिए। बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए। कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन्।
नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको भने, सार्क मुलुकका पर्यटकका लागि १ सय डलर र अन्य मुलुककालाई १ सय ३० डलर शुल्क कायम गरिएको छ।