डोल्पा। डोल्पाको जगदुल्ला ताल (४,७०० मिटर)मा साउने पूर्णिमा मनाउन तिर्थालुहरू खाली खुट्टामै पुगेका छन्। जगदुल्लाका मात्र होइन, छिमेकी गाउँपालिकाबाट ४ दिनको पदयात्रामा तालमा पुगेका हुन्। जगदुल्लाको तुङतुङ पाटन पुगेर उनीहरू करिब ६ घण्टा नाँगै खुट्टा हिँडेका हुन्।

उनीहरूले तालको दर्शन एवम् पूजा गरे। नाग पूजा र प्रार्थना पनि गरे। तालको दर्शन र पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।
कैलाश मानसरोवर र जगदुल्ला ताल बीच भिन्नता नरहेको र एउटै हुन् भन्ने स्थानीयको मान्यता छ। ‘गाँचेन मेरी राल्वा’ हिमालको काखैमा अवस्थित यस पवित्र तालबाट बगेको जगदुल्ला नदीले डोल्पालगायत तराई क्षेत्रका बिभिन्न भूभाग सिञ्चित गरेको छ।

तालको सेरोफेरोमा रहेका गुफामा लामाले ध्यान एवम तपस्या गरेका बताइन्छ। ‘मानसरोवर कैलाश’ र ‘जगदुल्ला ताल’लाई एउटै रुपले लिने जनविश्वास छ। स्थाननीयहरू यही ताल हुँदै माथि जाने मार्गलाई स्वर्ग जाने बाटोका रुपमा विश्वास गर्दछन।
–लेखक भास्कर साइकल यात्री तथा पर्यटन अभियन्ता हुन्।
















