काठमाडौं । गत एक महिनामा (सेप्टेम्बर–२०२३) मा ९१ हजार जना पर्यटकले नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्क अनुसार पछिल्लो एक महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका हुन्।
नेपालमा पर्यटकीय सिजन सुरु हुनु अगाडि अथार्त पोस्ट मनसुन सिजनमा आएको यो संख्या उत्साहजनक मानिन्छ ।
कोभिड पछि पुनः पर्यटन बजारले गति लिँदै गएको पछिल्लो तथ्याङ्कले देखाएको छ। सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित बन्न पुग्यो । सन् २०२० मा ५८४, सन् २०२१ मा ९,९०७, सन् २०२२ मा ५८,३१४ जना पर्यटक नेपाल आएका थिए ।
भारतीय पहिलो, चिनियाँ पर्यटक दोस्रो स्थानमा
एक महिनाको अवधिमा भारतीय पर्यटक नेपालमा सर्वाधिक संख्यामा आएको देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय नेपाल आएको तथ्यांकमा उल्लेख छ । चिनियाँ पर्यटक ८ हजार १७४ जना आएका छन् । अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन।