नुवाकोट। नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका वडा नं ६, मोहरथोकस्थित लप्से खोलामा एउटा मनोरम झरना छ। बर्खामा मात्र होइन, हिउँदमा पनि यसमा पानी हुन्छ। यही ‘लप्से झरना’ सहित समग्र खोलेगाउँलाई पर्यटन गन्तव्य बनाउने अभियान सुरु गरिएको छ।
प्रकृति र संस्कृतिको अनुपम भण्डार ‘खोलेगाउँ’लाई पर्यटन गन्तव्य बनाउने अभियान सुरु गरिएको छ। आइतबारदेखि दुई दिने ‘प्रथम खोलेगाउँ महोत्सव’ सुरु भएको छ।
खोलेगाउँभन्दा मुन्तिर जङ्गलको खोंचमा छ लप्से झरना। गाउँलेले यसलाई ‘ठुलो भीरको छाँगा’ भन्ने गरेका छन्। झरनाको सौन्दर्यले सबैलाई मोहित तुल्याउँछ।
प्रकृतिप्रेमी समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनको नेतृत्वमा गत साउन २० गते शनिबार लप्से झरनाको अध्ययन गरिएको थियो। त्यस अबसरमा वडाध्यक्ष विष्णु श्रेष्ठसहितका गाउँलेसँग उनले अन्तरक्रिया गर्दै भनेकी थिइन्, ‘गाउँबाट झरनासम्म पुग्न सजिलो पदमार्ग बनाउनुहोस्। हामी यहाँ हाइकिङ गराउने छौं।’
वडाले केही समय अघि झरनासम्म जाने गोरेटो सफा गरेर महोत्सव समेत आयोजना गर्यो। त्यसैले गएको मङ्सिर २० गते यिनै हाइकिङविज्ञ महर्जनको नेतृत्वमा समूहका सदस्यलाई हाइकिङ गराइयो।
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/6.jpg)
समूहको कार्यालय निरोगधाम, सातदोबाटोबाट पदयात्रीहरु टोखा, झोर, गुर्जे भन्ज्याङ हुँदै अर्खौलेसम्म गाडीमा पुगेका थिए। उनीहरु अर्खौैले पुग्दा खोलेगाउँका अगुवा राजन थापा त्यहाँ आइपुगिसकेका थिए। उनले पदयात्रामा सहयोग गरे। उकाली ओराली, भन्ज्याङ, चौतारी, हिमाल आदि प्रकृतिका अनुपम सौन्दर्यमा रमाउँदै पदयात्री हिँडे।
कलिलो घाम पर्दा बिहानीको शितले नुहाएका गाउँघर सफा चिटिक्क देखिएका थिए। खेतबारीमा रोपिएको गहुँबाली हरियो देखिन्थ्यो। उत्तरतिर क्षितिज माथि सेता हिमाल छर्लङ्ग थिए। हाँसिरहेका। बिस्तारै झरना क्षेत्रमा चहलपहल बढ्दै जाँदा गाउँलेहरु उत्साही बनेका छन्। ‘छाँगाको शिर र पुछारमा ढुङ्गाबाट बनेका प्राकृतिक पोखरी पनि छन’, मोहर थोकका ६२ वर्षे पूर्णबहादुर तामाङ भन्छन्, ‘अब पर्यटक आउने आशा गरेका छौं।’
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/20.jpg)
झरनामा पुग्नु अघि वडाध्यक्ष श्रेष्ठको घरमा सञ्चालित ‘शिवपुरी अर्गानिक होमस्टे’मा तीन बराबर (एक भाग अन्न, एक भाग तरकारी र एक भाग सलाद) खाना खुवाइएको थियो। खाना खाएर उनीहरु झरनामा घुमेका थिए।
स्मरणीय छ, ललितपुरको ‘प्रकृति प्रेमी समूह’ले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वस्थबर्दक हाइकिङ गराउँदै आएको छ। संस्थाको हाइकिङमा जंक फुड, फास्ट फुड र मदिरा निषेध छ। पदयात्रीलाई स्वास्थ्यबद्र्धक खाना मात्र खुवाइन्छ।
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/9.jpg)
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुलमन्त्र बोकेर निरोगी एवम् आनन्दित समाज निर्माणमा समूहले अगुवाई गर्दै आएको छ। खोलेगाउँमा लप्से मात्र होइन, अन्य झरना पनि छन्। छोङछोङ झरना, टुनी खोला झरना आदि। सबैतिर हाइकिङ गर्न सकिन्छ।
खोलेगाउँ विभिन्न जातजातिको सुन्दर फूलबारी हो। तामाङ बाहुल्य गाउँमा बाहुन, नेवार, गुरुङलगायतको बसोबास छ। गाउँलेको मुख्य पेसा कृषि हो। यहाँ मकै, कोदो, धानका साथै मौसमी तरकारी उत्पादन गरिन्छ। पशुपालन पनि गरिन्छ।
खोलेगाउँमा होमस्टे सुविधा छ। शिवपुरी होमस्टेको प्याकेज मूल्य ६ सय रुपैयाँ। यसमा ब्रेकफास्ट, लन्च, डिनर र बास सुविधा पाइन्छ।
कसरी पुग्ने ?
लप्से झरनामा पुग्न काठमाडौंको सामाखुसीबाट ग्राण्डी हस्पिटल हुँदै गुर्जेभञ्ज्याङ भएर पुलिसचौकीसम्म १२ किलोमिटर। चौकीबाट खोलेगाउँसम्म ९ किलोमिटर पक्कि सडक। त्यहाँबाट १ किलोमिटर कच्चि सडक। अनि १५ मिनेट पदयात्रामा झरना। पदयात्रा गरेर वा गाडीमा खोलेगाउँको शिवपुरी अर्गानिक होमस्टेसम्म पुग्न सकिन्छ। त्यहाँबाट १.५ किलोमिटरमा लप्से झरना।
खोलेगाउँ महोत्सव
विष्णु श्रेष्ठ, वडाध्यक्ष, शिवपुरी गाउँपालिका–६,
हाम्रो गाउँमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हामी पुस २९ र माघ १ गते दुई दिन खोलेगाउँ महोत्सव आयोजना गरेका छौं। खोलेगाउँको शम्शेरचोकमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं।
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/Kholegaun%20Mahotsab.jpg)
महोत्सवमा मह, घ्यू, डोको, नाम्लो, बेसार, भोगटे, दुना टपरी लगायतका स्थानीय उत्पादनहरुको स्टल रहनेछ। रैथाने परिकारका स्टल पनि राखिनेछ। साथमा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ। त्यसैले महोत्सवमा खोलेगाउँ घुम्न सबैलाई अनुरोध गर्दछु।
सम्पर्क: ९८५११५५१५८
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/2.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/4.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/5.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/10.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/11.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/13.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/14.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/15.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/16.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/17.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/19.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/21.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/24.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/25.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/26.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/28.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/29.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/30.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/31.jpg)
![](https://www.everestpedia.com/uploads/editor/Daily%20Photo/lapse%20jharana%20new/32.jpg)