काठमाडौं। प्राचीन गुरुङ संस्कृति र परम्पराको अनुपम मिश्रण बोकेको गुरुङ हेरिटेज ट्रेल नेपालको पर्यटन क्षेत्रमा नयाँ आशाको किरण बनेर उदाएको छ। शताब्दीयौं पुरानो इतिहास र समृद्ध संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनसँग जोड्ने अभियानमा गुरुङ पर्यटन व्यवसायी संघ (गण्डकी प्रदेश) ले महत्वपूर्ण पहल गरेको छ।
-1719208818.jpg)
गुरुङ समुदायको उद्गमस्थल मानिएको क्होलासोँथरदेखि सुरु हुने यो पदमार्गले गुरुङ जातिको समृद्ध इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेटेको छ। गुरुङ समुदायको प्राचीन इतिहास र संस्कृतिलाई गुरुङ हेरिटेज ट्रेलको रुपमा विकास र प्रवर्द्धन गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए।
हालै सम्पन्न भएको १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्द्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरेको छ। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र स्थानीय निकायहरूको सहयोगमा सञ्चालित यो कार्यक्रमले ताङतिङदेखि बेँसीसहरसम्मको यात्रा समेटेको थियो।
यस पदमार्गमा पर्यटकहरूले गुरुङ बस्ती, खर्क, भञ्ज्याङ, देउराली जस्ता स्थानहरूको अवलोकन गर्न सक्नेछन् भने, अन्नपूर्ण, माछापुछ्रे, लमजुङ, मनास्लु जस्ता हिमशृंखलाहरूको दृश्य, विविध वनस्पति र वन्यजन्तुको पनि अवलोकन गर्नसक्ने छन्।
गुरुङ हेरिटेज ट्रेलले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेस लगायतका स्थानमा सञ्चालित सामुदायिक घरबास कार्यक्रमलाई पनि समेटेको छ।
प्राचीन कालमा नुन व्यापारको लागि प्रयोग हुने यो मार्गले अब नयाँ रूप लिएको छ। गुरुङ हेरिटेज ट्रेलले इतिहास, संस्कृति र प्रकृतिको अद्भुत संगम प्रस्तुत गर्दै नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
-1719208821.jpg)
-1719208823.jpg)
-1719208824.jpg)
-1719208824.jpg)
-1719208825.jpg)
-1719208826.jpg)
-1719208826.jpg)
-1719208829.jpg)
-1719208833.jpg)
-1719208832.jpg)
-1719208832.jpg)
-1719208831.jpg)
सबै तस्बिरहरुः सन्जीव गुरुङ