काठमाडौं। सिन्धुपाल्चोकको पवित्र तिर्थस्थल पाँचपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महिला दौड आयोजना गरियो। विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ गरिएको हो। दौडमा ५१ जना सहभागी थिए।
दौडमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीसहितका महिलाले गत शुक्रबार ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरीबाट शुक्रबार विहान दौड सुरु गरेका थिए। दुई घण्टा २८ मिनेटमा दौड पुरा गरेर खोटाङकी निर्मला राई प्रथम भइन्। दुई घण्टा ४९ मिनेटमा नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो भइन् भने दुई घण्टा ५८ मिनेट दौडेर नितु तामाङ तेस्रो भइन्।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद, मेडर प्रमाणपत्र प्राप्त गरे। यसैगरि तीन घण्टा ११ मिनेटमा दौड पुरा गरेर अस्मिता भुजेल चौंथो भइन् भने उनले भन्दा ७ मिनेट बढी लगाएर आश्मा बि।क पाँचौं भइन्। चौंथोलाई नगद १० हजार र पाँचौंलाई नगद ५ हजार रुपैयाँले सम्मान गरिएको थियो। २८ किलोमिटर लामो दौडमा १७ देखि ५१ वर्षका महिला सहभाागी थिए।
‘पाँच पोखरी चिनाउने हाम्रो अभियान होे,’ उपाध्यक्ष अधिकारीले भनिन्, ‘यस दौडेले महिलाहरू केही गर्न सक्छन् है भन्ने सन्देश थिएको ।’
विश्व समावेशी साहसी संस्थाकी अध्यक्ष माया गुरुङले समग्र सिन्धुपाल्चोकलाई चिनाउन यो दौड उपयोगी भएको बताइन्। ‘जुनसुकै उमेरका महिलाहरू उचाइमा पुग्न सक्छन्’, उनले भनिन्, ‘आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।’
पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष टासी लामा र संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले महिलाको साहसको सम्मान गरेका थिए।