काठमाडौं। स्थानीय उत्पादन प्रवद्र्धन गरी पर्यटनबाट फाइदा उठाउने उद्धेश्यले भक्तपुरमा ‘गो लोकल’ अभियान शुभारम्भ गरिएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको संयुक्त नेतृत्वमा अभियान सुरु गरिएको हो।
अभियानमा १५ ओटा उत्पादन सूचीकृत गरिएको छ। यसमा जुजु धौ, ताइचिन चिउरा, काष्ठकला, भादगाउँले टोपी, नेपाली कागज, हस्तकला, काठ तथा कागजको मुकुण्डो, गलैंचा बुनाई, फेल्ट बुनाई, ताइचिन चामलको पिठो, अयला, र माटोका भाँडावर्तन् छन्।
दीपेशराज शर्मा अध्यक्ष, भक्तपुर पर्यटन विकास समिति
यी उत्पादनलाई पर्यटक माझ भक्तपुरको कोसेलीका रुपमा ब्रान्डिङ गरिनेछ। ‘यतिबेला हामी ५ ओटा उत्पादनहरू भादगाउँले टोपी, ताइचिन चिउरा, जुजु धौ, हाकु पटासी र काष्ठकलाको वृत्तचित्र निर्माणमा जुटेका छौं’, समितिका अध्यक्ष दीपेशराज शर्मा भन्छन्, ‘क्रमशः १५ ओटै प्रोडक्टको ब्रान्डिङ गर्नेछौं।’

रैथाने उत्पादनहरू लोपोन्मुख अबस्थामा छन्। त्यसैले रैथाने सिप पुस्तान्तरणसँगै स्थानीय रोजगारी बढाउने उद्धेश्यले ‘गो लोकल’ अभियान सुरु गरिएको शर्माले बताए। ‘यसले स्थानीय कलाकारको कौशल, सीप र शैली उजागर गर्न पनि मद्धत गर्दछ’, उनले भने, ‘पर्यटकलाई पनि कोसेलीका रुपमा प्रवद्र्धित सामान छनौट गर्न सजिलो हुनेछ।’
‘गो लोकल’ अभियानले रैथाने सिप र कलाको संरक्षणमा मद्धत गर्दछ। पर्यटकलाई पनि भक्तपुरबाट कुन कोसेली किनेर लैजाने भन्ने जानकारी दिलाउँछ। स्थानीय उत्पादले घरमै रोजगारी समेत सिर्जना गर्दछ।
अध्यक्ष, दीपेशराज शर्मा


