ललितपुर। ललितपुरको परोपकारी सामाजिक संस्था ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरूलाई दक्षिण ललितपुरको कोन्ज्योसोममा पदयात्रा गराएको छ। समूहकी सचिव एवम् हाइकिङविज्ञ राम देवी महर्जनको नेतृत्वमा शनिबार उनीहरूलाई भारदेउको पौवाचोरबाट कोन्ज्योसोम झरना पु¥याएर त्यहाँबाट कोन्ज्योसोम प्रतिमा हुँदै पौवाचौरसम्म हाइकिङ गराइएको हो।
कोन्ज्योसोम गाउँपालिका वडा नंं. ५ मा अवस्थित मनमोहक झरना र पवित्र कोन्ज्योसोम प्रतिमास्थल पुग्दा हाइकर्स गदगद भए। वैशाखे गर्मीमा पनि झरनामा पानीको मात्रा राम्रै थियो। यहाँ वर्षैभरी पानी हुन्छ।
कोन्ज्योसोम झरना
फूलबारी डाँडा (२,५५० मिटर)को प्रतिमास्थल पुग्दा पनि आकाश छर्लङ्ग खुलेको थियो। यहाँ अवलोकितेश्वर, गौतम बुद्ध र गुरु रिम्पोचेका विशाल मूर्ति बनाइएको छ। तामाङ भाषाको शब्द कोन्ज्योसोमको अर्थ हुन्छ, तीन मूर्ति ।
कोन्ज्योसोम प्रतिमा
पौवाचौरबाट जङ्गलको बाटो उकालो लागेर झरनास्थल पुग्दा सबै रमाए। पौवाचौरभन्दा मास्तिर बस्ती छैन। शान्त हरियाली वातावरणले सबैलाई मोहित बनाउँछ।
पौवाचौरमा कोन्ज्योसोम गाउँपालिकाका निवर्तमान अध्यक्ष गोपीलाल सिंतान, वडा नं. ५ का वडाध्यक्ष विजयकुमार स्याङ्तान, वडा सदस्यहरू कुमार स्याङ्बा तामाङ र सिर्जना लामासहितका जनप्रतिनिधिले खादा लगाएर हाइकर्सहरूको स्वागत गरेका थिए।
स्थानीय जनप्रतिनिधिहरूको सम्मान
हाइकर्सहरूलाई कोन्ज्योसोम प्रतिमास्थलमा तीन बराबर आहार (एक भाग तरकारी, एक भाग अन्न र एक भाग सलाद) खुवाइयो। कोन्ज्योसोम धार्मिक पर्यटन विकास समितिले सञ्चालन गरेको क्यान्टिनमा खाना खुवाइएको हो।
उचित आहार, विहार र विचार प्रशिक्षक एवम् हाइकिङविज्ञ राम देवी महर्जन
खानापछि ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी हाइकिङविज्ञ राम देवी महर्जनले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिन उचित आहार, विहार र विचारको मूल मन्त्र जीवनमा लागु गर्नुपर्नेमा जोड दिइन्। त्यसैगरी कोन्ज्योसोम गाउँपालिकाका निवर्तमान अध्यक्ष सिंतानले हाइकर्सलाई धन्यवाद प्रकट गरेका थिए।
उनीहरू कोन्ज्योसोम प्रतिमास्थल अवलोकन गरेर सिंढीको बाटो ओरालो झरे। र, गुप्तेश्वर मन्दिर दर्शन गरेर पौवाचौरबाट गाडीमा सातदोबाटोस्थित निरोगधाम फर्के।
पदयात्रीले ठाउँठाउँमा स्वास्थ्यको मन्त्रोचारण गरेका थिए, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा।’
गुप्तेश्वर मन्दिर
स्मरणीय छ, प्रकृतिप्रेमी समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। यसबाहेक यसले निरोग र आनन्दित रहन विभिन्न दुई दर्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रकृतिप्रेमी समूहको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध हुन्छ। स्वास्थ्यवद्र्धक खाना मात्र खुवाइन्छ।
हाइकिङविज्ञ महर्जनका अनुसार अर्को हाइकिङ वैशाखको चौंथो शनिबार फरक ठाउँमा हुनेछ।

सबैलाई स्वागत !
गोपीलाल सिंतान
निर्वतमान अध्यक्ष, कोन्ज्योसोम गाउँपालिका
कोन्ज्योसोम प्रतिमा हाम्रो गाउँ गौरवको आयोजना हो। गाडीमा वा पदयात्रामा कोन्ज्योसोम प्रतिमास्थल र कोन्ज्योसोम झरना घुम्न सकिन्छ। झरना क्षेत्रमा खानेबस्ने सुबिधा छैन। फूलबारी डाँडाको प्रतिमास्थलमा हाम्रो ‘कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति’ले भर्खरै क्यान्टिन सञ्चालनमा ल्याएका छौं। यहाँ खाना र खाजा सुबिधा पाइन्छ। पहिल्यै खबर गरेर आउनु भयो भने हामी ठुलो संख्यालाई पनि खुवाउन सक्छौं। भविश्यमा हामी पर्यटकलाई बास बस्ने सुबिधा पनि दिलाउने छौं।
सम्पर्कः ९८५११६८२५०
कसरी पुग्ने ?
ललितपुरको सातदोबाटोबाट २२ किलोमिटरमा भारदेउको पौवाचौर । पौवाचौरबाट ८ किलोमिटरमा कोन्ज्योसोम झरना। फरक बाटोबाट ९ किलोमिटर सडक यात्रामा कोन्ज्योसोम प्रतिमास्थल। झरना र प्रतिमास्थलसम्म सडक जोडिएको छ। पौवाचौरबाट सडक कच्ची भएकाले मोटरबाइक र फोरव्हिल जिपमा यात्रा गर्नु पर्दछ।
हाइकिङ गर्दा भने पौवाचौरबाट ८ किलोमिटरमा झरना, झरनाबाट ८ किलोमिटरमा कोन्ज्योसोम प्रतिमास्थल। प्रतिमास्थलबाट ४ किलोमिटर सिँढीको ओरालोमा पौवाचौर।
हाइकिङ दुरीः २० किलोमिटर (ठाडै उकालो/ठाडै ओरालो, करिब १७ सय मिटरदेखि २,५५० मिटरसम्म)
समयः ७–८ घण्टा
सम्पर्कः कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति, मोबाइल नम्बर ९८५११६८२५०
प्रकृतिप्रेमीका थप तस्बिरहरू :
























