काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनु पर्नेमा जोड दिएका छन्।
सोमबार प्रतिनिधिसभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाली आकाश र विमानस्थलहरूलाई व्यवस्थित र चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले विगत दुई दिनमा ७० जना सांसदहरूले उठाएका जिज्ञासाहरू परिपूरक रहेको उल्लेख गर्दै सांसदहरूबाट देखिएको अठोट र संकल्पले आफूलाई पनि थप दृढ बनाएको बताए।
‘हामीले नेपालको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूलाई सक्रिय बनाउनुपर्छ।’
मन्त्री पाण्डेले विधेयकमा संशोधनको बाटो खुला रहेको बताउँदै ७२ घण्टाभित्र विभिन्न संशोधन प्रस्ताव आउने अपेक्षा व्यक्त गरे। उनले सरकार सार्थक संवादका लागि तयार रहेको र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ अन्त्य गर्दै प्रभावकारी ऐन निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए।
दुई निकायलाई अलग बनाउँदा व्यवस्थापन थप प्रभावकारी र गतिशील हुने आशा व्यक्त गर्दै मन्त्री पाण्डेले कर्मचारीहरूको सेवा सुविधा यथावत् राखिने विश्वास पनि दिलाए।
उनले नियामक निकायमा सुधार देखिएको र भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले कुनै सम्झौता नगर्ने बताए।