पोखरा। एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा भेला भएका छन्। उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अन्तर्गतको ‘हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूह’को सातौँ बैठकमा सहभागी हुन पोखरा आइपुगेका हुन्।
कार्यशालासहितको बैठकमा हवाई उड्डयन क्षेत्रमा वन्यजन्तुजन्य जोखिमको अवस्थाबारे छलफल हुनेछ। विज्ञहरूका अनुसार उक्त बैठकमा जोखिम न्यूनीकरण, समाधानका उपायहरू तथा सुरक्षित हवाई सेवा प्रवर्द्धन गर्न रणनीतिहरू तय गरिनेछ।
उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित हवाई यात्राका लागि जोखिमहरूको पहिचान र समाधानमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले नेपाल सरकार प्रविधिमैत्री, सुविधासम्पन्न र सुरक्षित पूर्वाधार निर्माणमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हवाई सुरक्षामा स्थानीय सरकारको भूमिकाको महत्त्व औंल्याउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व नजिकैको ल्याण्डफिल साइट स्थानान्तरण गरिएको जानकारी दिए। ‘हामीले विमानस्थलको संवेदनशीलता बुझेर तुरुन्त निर्णय गर्यौँ र एक महिनाभित्र ल्याण्डफिल सुरक्षित दूरीमा सार्यौं,’ उनले भने, ‘यो निर्णयले स्थानीय सरकारको सक्रियता कति प्रभावकारी हुन्छ भन्ने प्रमाणित गर्छ।’
नगरप्रमुख आचार्यले राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्र आकाशलाई सुरक्षित बनाउन सकिने धारणा राखे। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका अन्य देशहरूसँग जोड्ने सम्भावना खोज्न आग्रह गरे।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंहले पनि सुरक्षित र पहुँचयोग्य हवाई सेवा प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिए।
बैठक वैशाख २७ गतेसम्म चल्नेछ।