पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा विस्तारका लागि सरकार, स्थानीय तह र निजी वायुसेवा प्रदायकहरूबीच गम्भीर छलफल भएको छ।
पोखरा महानगरपालिकाको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारी, साथै बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयरका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको छलफलमा पोखराबाट आन्तरिक गन्तव्यतर्फ नियमित उडानहरू सञ्चालन गर्ने सम्भावना माथि व्यापक बहस भयो।

छलफलमा मन्त्री पाण्डेले पोखरा विमानस्थललाई ‘पर्यटन राजधानीको प्रवेशद्वार’को रूपमा सम्बोधन गर्दै भने, ‘काठमाडौँ विमानस्थलमा बढ्दो चापलाई कम गर्दै पोखराबाट देशका सम्भाव्य गन्तव्यमा उडान विस्तार गर्न सरकारले नीतिगत सहयोग पुर्याउनेछ।’
पोखरा महानगर प्रमुख आचार्यले भने, ‘पोखरा पूर्वाधार र सम्भाव्यता दुवै हिसाबले तयार छ। सातै प्रदेशका विमानस्थलसँग सिधा हवाई सम्पर्क कायम गर्न हामी निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छौँ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा विमानस्थलबारे आएका केही नकारात्मक टिप्पणीहरूलाई ‘कपोलकल्पित र भ्रामक’ भन्दै खण्डन गरे। ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन योग्य छ। हामी सम्भाव्य गन्तव्य पहिचान गर्दै सिधा उडान सेवा विस्तार गर्नेछौँ, ’ उनले भने।

छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल र समिट एयरका प्रतिनिधिहरूले पोखराबाट सिधा सेवा सञ्चालन गर्न इच्छुक रहेको र त्यसका लागि आवश्यक अध्ययन र तयारी गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पर्यटन व्यवसायी वासु त्रिपाठी, पोमनारायण श्रेष्ठ लगायतको उपस्थिति थियो।