काठमाडौं। गोरखाको मनास्लु हिमश्रृङ्खलामा अवस्थित लार्के पिक (६,२४९ मिटर)मा पर्वतारोहीको आकर्षण बढ्दै गएको छ। बर्सेनि विदेशी पर्वतारोही लार्के चढ्न आउँछन्। तर, पछिल्लो समय खरपास (हिम खाल्डो)को संख्या बढ्दै गएकाले हिमचुली आरोहण चुनौतीपूर्ण बन्दै गएको छ।
तेस्रोपटक लार्के चुलीमा पुगेर भर्खरै काठमाडौं फर्केका माउन्टेन गाइड इन्सुहाङ राई भन्छन्, ‘ठाउँ-ठाउँमा भर्याङ आवश्यक छ। सगरमाथामा मात्र होइन, यस्ता पिकमा पनि आइसफल डाक्टर चाहिने भयो।’

ज्यादै अप्ठ्याराे भएकाले कतिपय पर्वतारोही चुली आरोहण नै नगरी फर्किएको उनले बताए। उनी संलग्न ‘ड्रिम सक्सेस कम्पनी’का भने सबैजना लार्केको शिखरमा पुग्न सफल बने। उनको टोलीमा कम्पनी प्रमुख लक्ष्मण मगर, गाइड ङावा तामाङ, दुई जना बेलायती नागरिक र उनीसहित पाँच जना थिए।

‘नेपाल पर्वतारोहण संघ, मनास्लु संरक्षण क्षेत्र आयोजना र स्थानीय गाउँपालिका सबै मिलेर जोखिम न्यूनिकरणमा ध्यान दिनु पर्यो’, उनले एभरेस्ट पेडियासँग भने, ‘अन्यथा पिक क्लाइम्बिङको भविश्य धरापमा पर्दछ। त्यसैले अत्यावश्यक भर्याङसहित आइसफल डाक्टरको व्यवस्था गरियोस्।’
स्मरणीय छ, पर्वतारोहणको सिजनमा सुरुमा बाटो बनाउने, डोरी फिक्स गर्ने, भर्याङ राख्ने आदी काम गर्ने श्रमजीविलाई ‘आइसफल डाक्टर’ भनिन्छ। यसै सन्दर्भमा करिब साँढे दुई दशक पर्वतीय पर्यटनमा विताइसकेका माउन्टेन गाइड राईसँगको भिडियो कुराकानी:
थप तस्बिरहरु:



