काठमाडौं। आज (सोमबार) देशभर बुद्ध पूर्णिमा विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
विश्वभर शान्तिका दूतकारूपमा चिनिने गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनलाई श्रद्धापूर्वक स्मरण गर्दै नेपालसहित संसारभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदैछन्।
भगवान् शाक्यमुनि बुद्धको जन्म ईसा पूर्व ५६६ मा कपिलवस्तुमा भएको मानिन्छ। यद्यपि, सिंहली परम्परा अनुसार यो समय झनै अघिको हुन सक्ने विश्वास गरिन्छ। बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। उनले जन्मिएलगत्तै सात पाइला चालेको र औंलाले दिशातर्फ संकेत गरेका कारण उनलाई दिव्य अवतार मान्ने परम्परा रहँदै आएको छ।
बौद्ध धर्ममा ‘महाआत्मा’ र अन्तिम बुद्धको रूपमा स्थापित छन्। जन्मिएलगत्तै नुहाइएका पोखरीलाई अहिले ‘सिद्धार्थ कुण्ड’ भनिन्छ। उनकी आमा मायादेवीको भने उनी जन्मिएको सातौँ दिनमा निधन भएको थियो।
बौद्ध धर्मका अनुसार उनले बोधगया (भारत) मा ज्ञान प्राप्त गरेका थिए र त्यसपछि अहिंसा, करुणा र शान्तिको मार्ग अवलम्बन गर्दै संसारलाई उपदेश दिए। उनका शिक्षाहरू ‘त्रिपिटक’ नामक ग्रन्थमा संकलित छन्। यसमा बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार उपदेश समेटिएका छन्। बुद्धका ३२ शारीरिक विशेषता र उनको प्रमुख दर्शन ‘प्रतित्यसमुत्पाद’को विस्तृत व्याख्या यस ग्रन्थमा गरिएको छ।
गौतम बुद्धलाई ‘एसियाको तारा’ पनि भनिन्छ। बुद्ध नेपालमा जन्मिएकाले बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। आज पनि देशभर सार्वजनिक बिदा दिइएको छ।
लुम्बिनीमा विशेष समारोह
लुम्बिनी विकास कोषको आयोजनामा २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस– २०८२ को विशेष समारोह सोमबार लुम्बिनीमा हुँदैछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक विज्ञप्तिमार्फत कार्यक्रमको जानकारी दिँदै सबैलाई समारोहमा उपस्थितिका लागि सादर निमन्त्रणा गरेका छन्।
विशेष समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र, लुम्बिनी साँस्कृतिक केन्द्रमा बिहान ९ बजे सुरू हुनेछ। कार्यक्रम नेपाली संवत् ११४५ वछलाथ्व पुन्हिको अवसरमा आयोजना गरिनेछ।
उक्त समारोहमा विभिन्न देशका बौद्ध धर्मावलम्बी, कूटनीतिक नियोगका प्रतिनिधि, बौद्ध संघसंस्थाका पदाधिकारी तथा बुद्ध जयन्तीमा श्रद्धा राख्ने भक्तजनहरूको सहभागिता रहनेछन्।