काठमाडाैं। ‘नेपाल, भगवान् बुद्धको जन्मस्थल र शान्तिको स्रोत’ भन्ने नारासहित थाइल्याण्डको बैंककमा आयोजित २५६९औं बुद्ध जयन्ती विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपाली दूतावास बैंकक, गैरआवासीय नेपाली संघ थाइल्याण्ड र नेपाल–थाइल्याण्ड मैत्री संघको संयुक्त आयोजनामा कार्यक्रम मे ११ र १२ तारिखका दिन सम्पन्न भएकाे नेपाल पर्यटन बाेर्डले जनाएकाे छ।
बाेर्डकाे सूचनामा उल्लेख भएअनुसार कार्यक्रमको पहिलो दिन आयोजित अन्तरक्रिया कार्यक्रममा लगभग ४० जना सरोकारवालाहरूको सहभागिता थियो। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनीलाई विश्वस्तरीय धार्मिक तीर्थस्थलका रूपमा विकास गर्ने विषयमा जोड दिए। उनले बुद्ध सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दालाई रोजगारीको अवसर दिइने प्रतिबद्धता समेत जनाए।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशमा छिट्टै अर्गानिक कृषि उत्पादनसँग सम्बन्धित नयाँ अभियान सुरु गर्न लागिएको जानकारी दिए। त्यस्तै, बुद्धको जीवनीसँग सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले आफ्ना नगरपालिका क्षेत्रलाई पर्यटन र आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजनाहरू प्रस्तुत गरे।
कार्यक्रमको दोस्रो दिन बैंककको लुम्पिनी पार्कबाट शान्ति र्याली निकालिएको थियो, जसमा तीन सयभन्दा बढीको सहभागिता रहेको थियो। र्यालीपछि एक होटलमा आयोजित विशेष कार्यक्रममा मन्त्री न्यौपाने, थाइल्याण्डका उप-परराष्ट्रमन्त्री, प्रमुख भिक्षुहरू, विभिन्न देशका राजदूत, लुम्बिनी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा श्री लक्ष्मण गौतमले बौद्ध धार्मिक पर्यटनका लागि नेपालको सम्भावना विषयमा व्यापक प्रस्तुति दिए भने, ब्रिटिश पुरातत्वविद् प्रा. रोबिन कनिङ्घमले लुम्बिनी र तिलौराकोटमा भइरहेको खनन कार्य र पत्ता लागेका ऐतिहासिक सामग्रीहरूबारे जानकारी गराएका थिए।
कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले स्वागत मन्तव्य दिँदै संयुक्त राष्ट्रसंघले घोषित गरेको अन्तर्राष्ट्रिय ‘वेशाख दिवस’का रूपमा बुद्ध जयन्ती मनाउनुको महत्वबारे प्रकाश पारेका थिए। त्यस अवसरमा थाइल्याण्डका प्रमुख भिक्षुले लुम्बिनीस्थित अशोक स्तम्भमा उल्लेखित अभिलेखहरूको व्याख्या गर्दै लुम्बिनीको वैश्विक महत्व झल्काए।