सल्लेरी। रारा क्षेत्रलाई इको-टुरिजमका लागि उपयुक्त गन्तव्यका रूपमा चिनाउँदै नेपाल पर्यटन बोर्ड (एनटिबी) र पर्यटक बस व्यवसायी संघ नेपाल (टीबान)को सहकार्यमा गरिएको रारा अवलोकन भ्रमण सम्पन्न भएको छ।
काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सुरु गर्ने तयारीस्वरूप २२ सदस्यीय टीबानको टोलीले रारा क्षेत्रको भ्रमण गरेको हो। भ्रमणका क्रममा मुगुको सल्लेरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन बोर्ड, बस व्यवसायी, स्थानीय बासिन्दा, होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा स्थानीय अगुवा छत्र साउदले रारामा पर्यटन प्रवर्द्धनको प्राथमिकता दिइएकोप्रति आभार व्यक्त गर्दै यसले स्थानीय आर्थिक गतिविधि र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताए।
होटल व्यवसायी देवीकृष्ण रोकायाले भने, ‘हामी सेवा सिक्दैछौं, विकास भइरहेका छन्। तर गुणस्तरीय सेवा र पूर्वाधार विकासका लागि तालिम र थप सहयोग आवश्यक छ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले रारालाई अब पछाडि परेको गन्तव्य नभएको स्पष्ट गर्दै भने, ‘यहाँ खानपान, आवास, हवाई तथा सडक पहुँचमा उल्लेखनीय सुधार भइसकेको छ। रारा अब इको–टुरिजम र चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य हो। हामीले अझ सम्भावनाहरू खोज्दै रारालाई विश्वसामु चिनाउनुपर्छ।’
उनले थपे, ‘रारा क्षेत्रको पर्यटन विकासका लागि तालिम, जनशक्ति विकास र प्रवर्द्धनमा पर्यटन बोर्ड पूर्णरूपमा प्रतिबद्ध छ।’
टीबान अध्यक्ष भिष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालनमा केही चुनौती भएपनि संघ तयार रहेको बताए। उनले स्थानीय बासिन्दाहरूलाई हस्पिटालिटी सेवा सुधारतर्फ प्रेरित गर्नुपर्ने उल्लेख गर्दै भने, ‘सडक छेउका होटलहरू व्यवस्थित गर्दै समन्वय र लगानीको वातावरण बनाउन सबै पक्ष एकजुट हुन आवश्यक छ।’
नेपाल पर्यटन बोर्डले निकट भविष्यमा काठमाडौँ–रारा बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन, सम्बन्धित पूर्वाधार विकासमा समन्वय, तथा रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा होटल स्तरोन्नति, सेवा सुधार र अन्तर्राष्ट्रिय प्रचारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।