काठमाडाैं। नेपाल पर्यटन बोर्ड (एनटिबी)ले ‘फाेटाे नेपाल’ अभियान अन्तर्गत फोटो पत्रकार प्रकाशचन्द्र तिमल्सेना र कला साधक भीमप्रसाद शर्माका दुई छुट्टाछुट्टै प्रदर्शनी आयोजना गर्ने भएकाे छ।
काठमाडौंस्थित पर्यटन बोर्ड परिसरमा हुने यी प्रदर्शनीहरू नेपालको भावना, साहस, पुनर्जागरण र आध्यात्मिक ऊर्जालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे बाेर्डले जनाएकाे छ।
बाेर्डका अुनसार जेठ १ देखि ३ गतेसम्म गोरखा भूकम्पपछिको १० वर्ष पुगेको अवसरमा ‘बारपाक फोटो प्रदर्शनी’ आयोजना हुनेछ। फोटोपत्रकार तिमल्सेनाको यो प्रदर्शनीले भूकम्पपछिको बारपाकको पुनर्निर्माण यात्रा र त्यहाँका जनजीवनमा आएको परिवर्तनलाई जीवन्त छविहरू मार्फत प्रस्तुत गर्ने विश्वास लिइएकाे छ।
त्यस्तै जेठ ४ देखि १० गतेसम्म भीमप्रसाद शर्माको १३औं एकल कला प्रदर्शनी ‘कुण्डलिनी– २: दिव्य जागरणको ऊर्जा मार्ग’ प्रदर्शनी हुनेछ। याे प्रदर्शनीले चेतना, अध्यात्म र आन्तरिक ऊर्जा जागरणको विषयमा आधारित यो प्रदर्शनीले रंग, प्रतीक र दृश्य संरचनाहरूमार्फत दर्शकलाई आत्मिक अनुभूतिमा डुबाउने बाेर्डले लक्ष्य राखेको छ।
नेपाल पर्यटन बोर्डले फाेटाे नेपाल अभियानबाट देशको दृश्य सम्पदा, स्मृति र सांस्कृतिक विरासतलाई दस्तावेज गर्दै विभिन्न सर्जकहरूको सहकार्यमा देशलाई नयाँ दृष्टिकोणबाट चिनाउने काम गर्दै आएको छ।
नेपाल पर्यटन बोर्डले सम्पूर्ण कलाप्रेमी, फोटोग्राफर, सञ्चारकर्मी र आम दर्शकहरूलाई यी दुई प्रदर्शनीमा सहभागी भई नेपालको सौन्दर्य, भावना र परिवर्तनशील यात्रामा साथ दिन हार्दिक आमन्त्रण गरेको छ।