काठमाडौं। ‘ग्रेटर मुन्दुम ट्रेल एक्सप्लोरेसन- २०२५’ कार्यक्रम अन्तर्गत चतरादेखि चोमोलुङ्माको काखसम्मको अध्ययनमूलक पदयात्रा सम्पन्न भएको छ।
मुन्दुम ट्रेललाई खुवालुङदेखि चोमोलुङ्मासम्म विस्तार गर्ने उद्देश्यसहित तथा भ्रमण वर्ष २०२५को प्रवर्द्धननार्थ यो पदयात्रा सञ्चालन गरिएको थियो। यात्रामा सांस्कृतिक, प्राकृतिक र सामाजिक पक्षको सूक्ष्म अध्ययन गरिनुका साथै नयाँ पदमार्गको सम्भावनाहरू पहिचान गरिएको संयोजक रमेशकुमार राईले जानकारी दिए।
पदयात्रामा महाकुलुङ गाउँपालिकाका लेखा अधिकृत ध्रुव कुलुङ, शिक्षा शाखा प्रमुख झमक कटवाल, पुरानो गोरेटो विकासमा लामो समयदेखि सक्रिय भलाकाजी कुलुङ तथा पर्यटन प्रवर्द्धन केन्द्रका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।
प्रशासकीय, लजिस्टिक र आर्थिक सहयोगका लागि महाकुलुङ गाउँपालिकाका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिइएको छ। आमालाप्चा पास (५८८५ मि) पार गर्ने क्रममा स्थानीय सहयोगीहरूको भूमिका विशेष रूपमा सराहना गरिएको छ। साथै, होटल व्यवसायी, ट्राभल व्यवस्थापक, टी–सप सञ्चालक र लुक्लाबाट काठमाडौँसम्मको यात्रामा सघाउने विमानकर्मीहरूप्रति आभार व्यक्त गरिएको छ।
यात्राका क्रममा विशेष रूपमा सन् १९९७/९८ तिर हराएका दुईजना विदेशी पर्यटकहरूको घटनाले प्रेरणा दिएको उल्लेख गरिएको छ। त्यही घटनापछि पर्यटनकर्मी बागमान कुलुङले यो पदमार्ग विकासमा अग्रसरता लिएका थिए।
संगठनले ग्रेटर मुन्दुम ट्रेलको अप्पर खण्डको विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।