काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू सगरमाथा चढ्दै गरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति स्पष्टिकरण दिएका छन्। उनले हाल आफू सगरमाथा चढ्ने तयारीमा रहेपनि अहिलेको लक्ष्य सगरमाथा बेसक्याम्पसम्मको मात्रै रहेको बताएका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यसपालि सेमिफाइनल अर्थात् सगरमाथा बेसक्याम्पसम्म भनेरै काठमाडौंबाट हिँडेको थिएँ। त्यहाँ म पुगिसकेको छु, सेमिफाइनल पूरा भएको छ।’
उनले सगरमाथा आरोहणका लागि आवश्यक पर्ने अनुमति आफूले प्राप्त गरिसकेको र त्यसका लागि ६,१४५ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक चढिसकेको जानकारी पनि दिएका छन्। तर, अहिले सगरमाथा चढ्ने तयारी पूरा नभएको स्पष्ट पार्दै भनेका छन्, ‘न त समय पर्याप्त पुगेको छ, न मसँग सगरमाथा आरोहणका लागि आवश्यक प्रशिक्षण छ। तर प्रशिक्षण लिँदैछु।’
शर्माका अनुसार सगरमाथा आरोहणका लागि सामान्यतः करिब ४२ दिनको समय आवश्यक हुन्छ र अधिकांश आरोहण मे २९ तारिख (जेठ १५/१६) मा सकिन्छ। ‘अहिले म भर्खरै बेसक्याम्प पुगेको छु,’ उनले भनेका छन्, ‘सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न।’
उनले पत्रकारहरूप्रति आभार व्यक्त गर्दै समाचार लेख्दा सावधानी अपनाउन आग्रह गरेका छन्। ‘अहिलेलाई यत्तिमात्र भनौं – इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ, अहिलेनै म सँग त्यसका लागि पर्याप्त योग्यता छैन,’ उनले स्टाटसमा उल्लेख गरेका छन्, ‘आभारी हुनेछु यतिबेला तपाईंको केवल शुभकामनाप्रति!’