काठमाडौं। जलवायु परिवर्तनबारे उच्चस्तरीय बहस गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय ‘सगरमाथा संवाद’ कार्यक्रम आजदेखि काठमाडौंमा हुँदैछ।
काठमाडौंको सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेबाट सुरु हुने यो संवाद कार्यक्रममा १७५ जना विदेशी प्रतिनिधिसहित ३५० जना सहभागी छन्। जलवायु परिवर्तन, हिमाल र हिमनदीका विषयमा केन्द्रित यो संवाद जेठ ४ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ।
नेपाल सरकारको संयोजनमा भइरहेको यस कार्यक्रममा राष्ट्रसंघ, चीन, भारतलगायत विभिन्न देशका प्रतिनिधिमण्डल, वैज्ञानिक, नीति निर्माता र जलवायु अभियन्ताहरूको सहभागिता रहेको छ।
कार्यक्रमको पहिलो सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत मन्तव्य दिनेछिन्। कार्यक्रममा चीन र भारतका विशिष्ट पाहुनाहरू, कोप २९ का अध्यक्ष तथा अजरबैजानका जलवायुसम्बन्धी प्रतिनिधिहरूले समेत मन्तव्य दिनेछन्। साथै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देश पनि प्रस्तुत गरिनेछ।
उद्घाटन सत्र बिहान ९ः३० मा सुरु भई ११ बजे सकिनेछ।
छलफल सत्र:
जलवायु परिवर्तनका मुख्य विषयहरूमा प्रतिनिधिमण्डलहरूले धारणा राख्ने यस सत्रमा २३ वटा राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रत्येकलाई ५ मिनेट समय दिइनेछ। कार्यक्रम बिहान ११ः३० मा सुरु भई दिउँसो १ः३० बजे सकिनेछ।
विशेष भ्रमण तथा सांस्कृतिक कार्यक्रम:
छलफलपश्चात विशिष्ट पाहुनाहरूका लागि सगरमाथा क्षेत्रको हवाई अवलोकनलगायत विशेष भ्रमण तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ।
‘सगरमाथा संवाद’ नेपाल सरकारले विश्वव्यापी जलवायु संकटबारे हिमाली देशहरूको आवाजलाई सशक्त बनाउने उद्देश्यसाथ प्रारम्भ गरेको कूटनीतिक पहल हो। यसले नेपालको जलवायु कूटनीतिमा बढ्दो उपस्थितिलाई स्थापित गर्ने विश्वास लिइएको छ।