चरिकोट। अमेरिकन पर्यटकहरुले सोक्ला भ्यालीमा रक क्लाइम्बिङ गरेका छन्। सगरमाथा यात्रामा रहेका अमेरिकन १३ जना नागरिकहरुले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्बिङ आरोहण गरेका हुन्।
‘सोक्लाश्वरी पर्यटन विकास समाज’को नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्बिङमा पहिलोपटक विदेशी पर्यटकले आरोहण गरेका हुन्। अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्राफेसरसहितको टिमले रक क्लाइम्बिङ गरेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।

युनिभर्सिटीका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल, एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगाएतको टिमले रक क्लाइम्बिङ गरेका हुन्।
दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यसहित विगत पाँच वर्षदेखि रक क्लाइम्बिङको प्रवद्र्धन गरीरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाइ छ।
इलाम माइपोखरीका गाइड अमरदिप वान्तवाले अमेरिकन नागरिकहरुलाई सोक्ला भ्यालीसम्म पुर्याएका हुन्। उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो।
साउथ स्टन युनिभर्सिटी फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्बिङपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए।
‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो। दोलखा पहिलोपटक। यही क्रममा सोक्ला रक क्लाइम्बिङ गर्ने अवसर मिल्यो,’ उनले भने, ‘सगरमाथा आरोहणमा सहज हुनेछ। म अर्को वर्ष आरोहणका लागि बेसक्यामसम्म जाँदैछु।’

उनीसँगै अर्का आरोही इजी विएलले भनिन्, ‘यो यात्रा रोमाञ्चोक हुने भयो। सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो। डर थियो। तर, साहस भएकै कारण यो चटान चढ्न सजिलो भयो।’
सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए। ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं। रक क्लाइम्बिङको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामकोशी र गौरींशकर हिमालको श्रृंखला देख्दा अच्चम लाग्यो,’ एन्ड्रले भने, ‘पाखो पहाड धेरै देखेँ तर एकै ठाउँबाट फाँट, बस्ति, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन।’ उनी निकै प्रफुल्ल थिए।
अमेरिकाको युनिभर्सिटिमा रक क्लाइम्बिङको लोगो राखिने
अमेरिकाको साउथ स्टन युनिभर्सिटी फ्लोरिडामा सोक्ला रक क्लाइम्बिङको लोगोसहितको मायाको चिनो राखिने फ्रोफेसर म्याथु वर्नेट बताए। खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटीमा राख्नेछु।’
अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडेमीका ३९ जना विद्यार्थीहरुले रक क्लाइम्बिङ गरेका छन्। उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रितिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ। उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो।

सोक्ला रक क्लाइम्बिङ फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापत्ति बर्मा लामाले समेत रक क्लाइम्बिङ गरेका थिए। सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटनक आर्थिक विकासको लागि रक क्लाइम्बिङ कोसेढुंगा हुने बताए।
साथै उनले रक क्लाइम्बिङमा सहभागी अमेरिकी नागरिकहरु र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थियो।







